काठमाडौं- गायिका एलिना चौहानले चोटग्रस्त अनुहारसहितको तस्बिर फेसबुकमा सार्वजनिक गरेकी छन्। पूर्वपति विष्णु सापकोटाले सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गरेको केही घण्टाभित्रै एलिनाले आफ्नो अनुहारमा नीलडाम र चोटसहितको फोटो राखेकी हुन्।
कारुणिक फोटो सार्वजनिक गर्दै कानुनी, सामाजिक र नैतिक बाटो अपनाउने चेतावनी दिएकी छन्। उक्त फोटोमा ९ जुन २०२४ को मिति छ।
‘म हरेक कानुनी, सामाजिक र नैतिक बाटो अपनाएर न्यायको लागि अघि बढ्नेछु। किनकी म एक्लो भएपनि, सत्य मेरो साथमा छ,’ चेतावनीको भाषामा उनको स्टाटसमा लेखिएको छ।
एलिनाका पूर्वपति विष्णु सापकोटा अस्ट्रेलिया बस्छन्। बाग्लुङ मूल थलो भएका विष्णुसँग बिहे गरेपछि एलिना पनि केही समय अस्ट्रेलिया गएकी थिइन्। यही बेला यो दम्पतीको मनमुटाव सुरु भएको थियो। उक्त विवाद सम्बन्धविच्छेद भइसक्दा पनि सकिएको छैन।
सम्बन्धविच्छेदलाई लिएर आफ्नो आलोचना गरेको भन्दै विष्णुले अस्ट्रेलिया र नेपालमा कानूनी परामर्शमा अघि बढेको बताएका थिए। पूर्वपति सापकोटाको कानुनी प्रक्रियामा अघि बढ्न लागेको जवाफमा एलिनाले चोटग्रस्त अनुहार सार्वजनिक गरेको अनुमान गरिएको छ।
एलिनाले एक अन्तर्वार्तामा विष्णुले आफूमाथि कुटपिट गरेको आरोप लगाएकी थिइन्। अहिले उनले तस्बिर सार्वजनिक गरिन्। ६ महिनाअघि एलिना र विष्णुबीच काठमाडौं जिल्ला अदालतमा सम्बन्धविच्छेद भएको थियो।
विष्णुले सामाजिक संजालमा एक लामो विज्ञप्ति जारी गर्दै सामाजिक संजालबाट आउने कठोर शब्द, धम्कीपूर्ण सन्देश, मानसिक दबाब र चरित्र हत्या गर्ने प्रयासले गर्दा आफू मानसिक पीडाबाट गुज्रिरहेको दुखेसो गरेका छन्।
आफूहरूबीच सहमतिमा सम्बन्धविच्छेद भएपनि अहिले आफ्नोबारे बनेका अनावश्यक टिकटक भिडियो र भ्रामक गतिविधिले व्यक्तिगत र सामाजिक प्रतिष्ठामा गम्भीर असर पुर्याएको उनको भनाइ छ।
‘अलग बसेको लगभग १ वर्ष र सम्बन्धविच्छेद भएको ६ महिना कटिसक्दा पनि केही व्यक्तिले पुराना विषयहरू सामाजिक संजालमा ल्याउन थालेका छन्, जसले मेरो व्यक्तिगत जीवन, परिवार र व्यवसायिक वातावरणमा नकारात्मक असर पुर्याइरहेको छ,’ उनले लेखेका छन्।
सापकोटाले मानहानी र व्यवसायिक नोक्सानीको क्षतिपूर्तिसहित अस्ट्रेलियामा कानुनी प्रक्रिया अघि बढाइसकेको उल्लेख गरेका छन्।
आफ्नो मौनतालाई कमजोरीको रुपमा नलिन उनको चेतावनी थियो। विष्णुको चेतावनीमा एलिनाको पनि चेतावनी छ।
एलिनाको स्टाटस
हामीबीचको कुरा त आपसी समझदारीमै त्यही दिन सकिएको थियो।
तर समाजकै दवाव, सामाजिक सञ्जालको दुरुपयोग, र सतही धारणाले
त्यो सकिएको कुरा फेरि दोहोर्याएर मेरो व्यक्तिगत जीवनमाथि गम्भीर अन्याय गर्यो।
म कानुनी प्रक्रियामा जान बाध्य भएँ।
म आफ्नो चरित्रको बचाउ गर्न बाध्य भएँ।
मैले मेरो विगत खोल्नुपर्यो—त्यो विगत जुन आज मेरो जीवनसँग सम्बन्धित छैन।
त्यो सम्बन्धसँग मेरो कुनै दुश्मनी थिएन,
न कुनै बदला लिने सोच।
स्पष्ट भन्न चाहन्छु—
यो लडाइँ मेरो व्यक्तिगत मान्छेसँग होइन।
यो लडाइँ हो—त्यस मानसिकतासँग,
जसले सत्य बोल्ने नारीलाई नै दोषी बनाउँछ।
जसले पीडितलाई नै कठघरामा उभ्याउँछ।
जब मैले आफ्ना भोगाइहरू सुनाएँ,
म माथि फेरि प्रश्नहरू उठाइए—‘किन अहिले?’, ‘किन फेरि?’
तर मलाई थाहा छ—यो देश अझै पनि पुरुषप्रधान सोचमा जकडिएको छ।
यहाँ सत्य बोल्नेलाई नै अपराधी बनाइन्छ।
तर अब म चुप लाग्दिन।
अब यो केवल मेरो न्यायको लडाइँ होइन,
यो हरेक नेपाली चेलीको आवाज हो।
म हरेक कानुनी, सामाजिक र नैतिक बाटो अपनाएर
न्यायका लागि अगाडि बढ्नेछु।
किनकि म एक्लो भए पनि,
सत्य मेरो साथमा छ।
यस्तो छ विष्णुले सामाजिक सञ्जालबाट सार्वजनिक गरेको आफ्नो विचार:
नमस्ते सबै जनालाई
केही समयदेखि सामाजिक सञ्जाल, विशेष गरी TikTok लगायतका प्लेटफर्महरूमा मेरो व्यक्तिगत जीवनसँग सम्बन्धित विभिन्न टीकाटिप्पणी र भिडियोहरू फैलिरहेको कुराले मेरो ध्यान आकर्षित गरेको छ । ती सामग्रीहरूलाई मध्यनजर गर्दै केही कुरा स्पष्ट पार्नु आवश्यक ठानेको छु । हामी दुई जना अलग भइसकेपछि, आपसी समझदारीका आधारमा, आफ्ना व्यक्तिगत कुराहरू सार्वजनिक रूपमा नल्याउने र शान्तिको लागि मौन बस्ने निर्णय गरेको थिएँ । चुप लागेर बस्नु मेरो कमजोरी होइन, न त बोल्ने ठाउँ नपाएर हो । सम्बन्ध समाप्त भइसकेपछि कसैसँग बदला लिने, गिज्याउने, खिसीटिउरी गर्ने वा आफ्नो ऊर्जा नकारात्मक कुरामा खर्च गर्ने मेरो स्वभाव होइन ।
हिजोको दिनमा माया गरेर, परिवारको उपस्थितिमा, आदरपूर्वक घर भित्र्याइएको व्यक्तिको सम्मानका कारण पनि म समाप्त भइसकेको सम्बन्धबारे सार्वजनिक रूपमा बोल्न उचित ठान्दिनँ। दुवै पक्षको समझदारीमा सम्मानित अदालतले निर्णय गरिसकेको विषयमा पुनः बोल्दै हिँड्नु अदालतको अपमान पनि ठहर्छ ।
सम्बन्ध माया र सम्मानका साथ सुरु भएको थियो, त्यो लामो समय टिक्न नसके पनि त्यसको अन्त्य पनि सम्मानका साथ हुनुपर्छ भन्ने मेरो दृढ विश्वास हो । सम्बन्धित कानुनी प्रक्रिया समाप्त भइसकेको छ र अदालतले निर्णय गरिसकेको छ।
Self-healing (आत्मोपचार) गर्ने सबैको आ-आफ्नै तरिका हुन्छ । मैले के के भोगेँ, कुन अवस्थाबाट गुजें, र आफूलाई कसरी heal गरेँ – त्यो मलाई मात्र थाहा छ । बल्ल बल्ल म यस अवस्थाबाट अगाडि बढ्न सकेको थिएँ । अलग बसेको लगभग १ वर्ष र सम्बन्ध विच्छेद भएको ६ महिना कटिसक्दा पनि केही व्यक्तिहरूले फेरि पुराना विषयहरू सामाजिक सञ्जालमा ल्याउन थालेका छन्, जसले मेरो व्यक्तिगत जीवन, परिवार र व्यावसायिक वातावरणमा नकारात्मक असर पुऱ्याइरहेको छ ।
कठोर शब्द, धम्कीपूर्ण सन्देशहरू, मानसिक दबाब र चरित्र हत्या गर्ने प्रयासहरूले गर्दा म गम्भीर मानसिक पीडाबाट गुज्रिरहेको छु । सम्बन्धमा आएको पीडालाई आत्म- संयमका साथ सहेर बसेको छु। यस्ता संवेदनशील विषयहरूलाई सामाजिक सञ्जालमा बहस गर्नु न नैतिक रूपमा, न मानवीय रूपमा, न कानुनी रूपमा उचित ठहर्दछ।
प्रत्येक व्यक्तिको व्यक्तिगत, पारिवारिक र व्यावसायिक जीवनको मर्यादा हुन्छ, जसको सम्मान र संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो ।
म स्पष्ट रूपमा भन्न चाहन्छु • अहिले मेरो बारेमा भइरहेका अनावश्यक TikTok भिडियोहरू र भ्रामक गतिविधिहरूले मेरो व्यक्तिगत र सामाजिक प्रतिष्ठामा गम्भीर असर पुऱ्याइरहेका छन्। प्रतिशोध नभई, मेरो व्यक्तिगत अधिकार, प्रतिष्ठा र आत्म- सम्मानको संरक्षणका लागि मेरो ब्यक्तिगत मानहानि तथा व्यावसायिक नोक्सानीको क्षतिपूर्ति सहित मैले अस्ट्रेलियामा कानुनी प्रक्रिया अघि बढाइसकेको छु । कानुन सबैका लागि समान हुन्छ र न्यायको सही मार्ग पनि त्यही हो ।
मेरो मौनतालाई कमजोरी ठान्नु वा त्यसलाई दोष स्वीकारेको सङ्केत मान्नु पूर्ण रूपमा अनुचित हुनेछ । अहिले दुवैको आ-आफ्नै व्यक्तिगत, पारिवारिक र व्यावसायिक जीवन छ। कहिलेसम्म यस कुराको सिकार हुनुपर्ने हो हामी ?
अन्त्यमा, यो कठिन समयमा मलाई साथ दिनु भएका सबै शुभचिन्तकहरूलाई म हार्दिक धन्यवाद दिन चाहन्छु। साथै, तपाईँहरू सबैलाई अनुरोध गर्दछु – कृपया अर्को पक्षप्रति गाली, तिरस्कार वा अमर्यादित व्यवहार नगर्नुहोस् ।
म अहिले अस्ट्रेलिया र नेपाल दुवै स्थानमा कानुनी परामर्श लिँदैछु


