काठमाडौँ- असार २४ गते लेन्दे खोलामा आएको बाढीले रसुवागढी नाकास्थित मितेरी पुल बगाएका कारण नेपाल प्रवेश गर्न नसकी चीनको केरुङमा अड्किएका दुई सयभन्दा बढी नेपालीलाई स्वदेश फर्काइएको छ। बुधबार उनीहरू तातोपानी नाका हुँदै नेपाल प्रवेश गरेका हुन्।
उनीहरूलाई लिनका लागि सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापासहित सुरक्षा अधिकारीहरु नाका पुगेका थिए। उनीहरूलाई चिनियाँ क्षेत्रभरमा चिनियाँ पक्षले ल्याइदिएको थियो।
केरुङमा फसेका २०३ नेपालीहरु २० वटा बसमा आएका हुन्। अधिकांश चालक र सहचालकहरू बाढीमा फसेका थिए।
केरुङमा फसेका नेपालीलाई उद्धारका लागि नेपाल सरकारले चीन सरकारसँग पहल गरेको थियो।
