काठमाडौँ- नेपाली सेनाले निर्माण गरिहेको काठमाडौँ-तराई (मधेस) द्रुतमार्ग सडक आयोजनाको भौतिक प्रगति ४२.१३ प्रतिशत भएको छ। गत आर्थिक वर्ष २०८२/२०८३ सम्ममा यो सडकको आर्थिक प्रगति भने ४४ प्रतिशत भइसकेको नेपाली सेनाले जानकारी दिएको हो।
सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार फास्ट ट्र्याकमा ७ स्थानमा सुरुङ बनाउनु पर्नेछ। यी सुरुङको कूल लम्बाइ १० हजार ९७९ मिटर छ। महादेवटार, धद्रे र लेनडाँडामा आउने र जाने छुट्टाछुट्टै (जोडी) सुरुङ निर्माण हुनेछन्।
महादेवटार सुरुङको जम्मा लम्बाई ३ हजार ३५५ मिटर छ। यसको बायाँतर्फको टनेल ३ हजार ३८६ मिटरमध्ये २ हजार २८८ मिटर खनिसकिएको छ। दायाँतर्फको ३ हजार ३२२ मिटर टनेल खन्नुपर्नेमा २ हजार २९ मिटर सुरुङ खनिसकिएको छ। यो सुरुङको दायाँतर्फ ६८ प्रतिशत प्रगति भएको छ भने दायाँतर्फ ६१ प्रतिशत प्रगति भएको छ।
धेद्रे सुरुङको १६९० मिटर र लेनडाँडाको १६२२ मिटर ब्रेक थ्रु भइसकेको छ। देवीचौरको १ हजार, सिसौटारको ३९० र मौरीभीरको ५९४ मिटरमा पोर्टलको काम भइरहेको सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले जानकारी दिए। चन्द्राम भिरमा २ हजार २५० मिटर सुरुङ खन्नुपर्ने छ। भर्खरै काम सुरु भएको यो सुरुङमार्गमा १९९ सय मिटर खनिएको छ।
सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार यो आयोजनालाई १३ वटा प्याकेजमा विभाजन गरिएको छ। जसमा प्याकेज १, २, ३, ४, ५, ६, ७, ८क, ८ख, ९क, ९ख र १० निर्माणाधीन तथा कार्यान्वयनको चरणमा रहेका छन्। प्याकेजको ११ खोकना– डुकुछाप खण्डमा जग्गा अधिग्रहण र द्रुतमार्गको शुरु बिन्दु र सवारी आवागमन व्यवस्थापन सम्बन्धमा समन्वय भइरहेको सेनाको भनाइ छ।
सैनिक मुख्यालयका अनुसार आयोजनामा निर्माण गर्नु पर्ने ८९ पुलमध्ये ८५ वटाका लागि निर्माण खरिद सम्झौता भएर काम सुरुको चरणमा रहेका छन्। ५१ स्थानका पुलहरुको जग राख्ने काम भएको छ।
जग्गा खरिदको लागि १ अर्ब ६५ करोड, निर्माण व्यवसायीलाई दिइएको पेस्की ८२ करोड ३७ लाख रुपैयाँ र विद्युत प्राधिकरणको लागि ९ करोड ८१ लाख रुपैयाँ पेस्की दिइएको छ।
डीपीआर हुँदा यो आयोजना २ खर्ब ११ अर्ब ९३ करोड रुपैयाँमा सम्पन्न हुने अनुमान गरिएको हो। गत आर्थिक वर्षमा १३ अर्ब ४५ करोड ७९ लाख २८ हजार १ सय ३८ रुपैयाँ खर्च भइसकेको छ। आयोजनामा हालसम्म ८० अर्ब ५४ करोड रुपैयाँ खर्च भइसकेको छ।
२०७४ जेठ १४ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले बाराको निजगढमा शिलान्यास गरेर निर्माण सुरु भएको यो आयोजना २०८३ साल चैत मसान्तसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। निर्माण सम्पन्न गर्न करिब ८ महिना बाँकी रहँदा एक तिहाइ मात्र प्रगति भएकोले आयोजना पूरा नहुने निश्चित छ।
ललितपुरको बुङमतिमा करिब ६ किलोमिटर क्षेत्रमा स्थानीयले सडक निर्माणमा पुर्याएको अवरोध गर्दै आएका छन्। समयमा ठेक्का लाग्न नसक्नु, आयोजना निर्माणस्थलका रुख समयमा काट्न कानुनी व्यवधान खडा भएकाले पनि यो सडक निर्माणमा आशातीत प्रगति नभएको सेनाको दाबी छ।
यो मार्ग निर्माण पूरा भएपछि काठमाडौबाट बारा पुग्न एक घण्टा मात्र लाग्ने र ४ घण्टा जोगिने अध्ययनहरूले देखाएका छन्।
काठमाडौँबाट भरतपुर हुँदै निजगढ पुग्न २७२ किलोमिटर छ। फास्ट ट्र्याक ९ललितपुरको खोकनादेखि मकवानपुर हुँदै बाराको निजगढ पुग्ने सडक० बनेपछि ७२ किलोमिटरमा नै पुग्न सकिने सेनाले जानकारी दिएको छ।


