काठमाडौँ– संयुक्त अरब इमिरेट्स (युएई) मा रोजगारीको सिलसिलामा गएका नेपाली श्रमिकहरूको मृत्यु दर उच्च बन्दै गएको छ।
विगत एक वर्षको अवधिमा मात्रै युएईमा ३१२ जना नेपालीले ज्यान गुमाएका छन्।गत आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक रोजगारीमा गएका उनीहरूको यूएईमा मृत्यु भएको हो।
गत आर्थिक वर्ष औसतमा प्रत्येक महिना यूएईमा २६ जना नेपालीको मृत्यु भएको यूएईको अबुधाबीस्थित नेपाली दूतावासको तथ्यांकले देखाएको छ। आर्थिक वर्ष २०८०/८१ मा यूएईमा २३१ नेपालीले ज्यान गुमाएका थिए। उक्त वर्ष प्रत्येक महिना औसतमा १९.२५ जना नेपालीको मृत्यु यूएईमा भएको थियो।
जानकारी अनुसार ०८१ साउनमा ३०, भदौमा ३२, असोजमा ३३, कात्तिकमा ३५, मंसिरमा २४, पुसमा १३, माघमा २५, फागुनमा १७, चैतमा १७, ०८२ वैशाखमा ३५, जेठमा २० र असारमा ३१ नेपालीको मृत्यु भएको छ।
सडक दुर्घटना, कार्यस्थल दुर्घटना, हृदयघात, मुटुसम्बन्धी रोगलगायत कारण नेपालीले यूएईमा ज्यान गुमाउने गरेका छन्।
जानकारी अनुसार मृत्यु हुनेमध्ये धेरैजसो श्रमिक हृदयघात, कार्यस्थलमा भएको दुर्घटना,आत्महत्या तथा स्वास्थ्यसम्बन्धी समस्याबाट पीडित थिए। तीमध्ये करिब ७० प्रतिशत मृतकको उमेर २५ देखि ४५ वर्षका बीचमा रहेका छन्।
युएईमा ३ लाखभन्दा बढी नेपाली कामदार विभिन्न क्षेत्रमा कार्यरत रहेका छन्।
नेपाल सरकार तथा युएईस्थित नियोगहरूले श्रमिकको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखी प्रभावकारी नीतिहरू ल्याउनुपर्ने माग बढ्दो छ। साथै, मृतकका परिवारलाई राहत, बीमा र क्षतिपूर्ति प्रभावकारी ढंगले उपलब्ध गराउन सम्बन्धित पक्षमाथि चासो बढेको छ।


