काठमाडौँ– नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले देशभर कहीँ पनि लोडसेडिङ नभएको दाबी गरेका छन्। विद्युत आपूर्तिमा समस्या आएको भन्दै सोमबार चितवन पुगेका उनले कहिलेकाँही आउने प्राविधिक समस्यालाई लिएर कुप्रचार गरिएको जिकिर गरेका हुन्।
‘बढ्दो गर्मी, पानी नपरेको कारणले अहिले भएको विद्युत सञ्जालले लोड थाम्न नसकेर लाइन जाने समस्या भएको तथ्यलाई गलत ढंगले व्याख्या गरेर बदनाम गराउने काम भएको छ,’ भरतपुरमा पत्रकारसँग कुरा गर्दै शाक्यले भने।
अब नेपालमा लोडसेडिङ नहुने तर कहिलेकाँही आउने प्राविधिक समस्यालाई बुझिदिनुपर्ने उनको भनाइ छ। चितवनमा भैरहेको विद्युत आपूर्तिको समस्या बढ्दो लोड तथा पुरानो र जीर्ण वितरण प्रणालीबाट भएको शाक्यको भनाइ छ।
‘पहिले नै यहाँको सिस्टम अपग्रेड गर्नुपर्ने थियो, काममा ढिला भएको पक्कै हो, गर्मी बढेपछि समस्या उत्कर्षमा पुग्यो। मंगलबार बेलुकासम्म चितवनको विद्युत आपूर्तिको समस्या समाधान हुन्छ, अहिलेको जस्तो अवस्था आउँदैन,’ उनले भने, ‘हामीले साँझ ५ देखि ९ बजेसम्म नचलाउनुस्, ९ बजेपछि चलाउनुस् भन्यौं तर, खासै लागु भएन।तराईका अधिकांश जिल्लामा भएको समस्या यहीँ हो।’
प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले पुरानो भरतपुर वितरण केन्द्रको निरीक्षणपछि विद्युत आपूर्ति बन्दको एक दिने सूचना निकालेर आलोचित बनेको चुनौली वितरण केन्द्रको निरीक्षण समेत गरेका छन्।


