सिन्धुली– सिन्धुलीको गोलन्जोर गाउँपालिकामा एकै परिवारका १६ जना सम्पर्कविहीन भएका छन्। गोलन्जोर गाउँपालिकाका अध्यक्ष शंकर राज बरालले पनि हायु परिवारका १६ जना हराएको पुष्टि गरे।
‘गाउँपालिका भित्र एकै परिवारका १६ जना हराएको खबर पाएको छु। उनीहरू हायु परिवारका सदस्य हुन्, एकान्त स्थानमा घर भएकाले पनि सबै कुरा जानकारी छैन, अहिले प्रहरी पुगेर खोजतलास गरिरहेको छ,’ अध्यक्ष बरालले नेपाल क्लिक्ससँग भने।
गोलन्जोर गाउँपालिका–६ स्थित छेत्पा नजिक भण्डास बिप्पर कटेरी भन्ने ठाउँमा बसोबास गर्दै आएकी उर्मिला हायुको परिवारका १६ जना सदस्य सोमबार बिहान सम्पर्कविहीन भएका हुन्।
स्थानीयले यो सूचना जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा दिएका छन्। गाउँबाटै एकै परिवारका १६ जना सदस्य हराएको सूचना पाएपछि प्रहरीले खोजतलास सुरु गरेको जानकारी दिएको छ। प्रहरी टोली खोजीका लागि हायुको घर पुगेको सिन्धुलीका एसपी लालध्वज सुवेदीले जानकारी दिए।
‘घटनाबारे सूचना पाउने बित्तिकै प्रहरीको टोली हायुको घरमा पुगिसकेको छ। हायुको घरमा सामान्य क्षति देखिएको छ। हायु परिवारले पालेको कुखुरा, बाख्रा, भैंसी अलपत्र छ। तर हायुको परिवारका कोही सदस्य पनि घरमा छैनन्,’ उनले भने।


