काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन नीति २०८२ सार्वजनिक गरेको छ।
मंगलवार सिंहदरबारमा पत्रकार सम्मेलन गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले पर्यटन नीति २०८२ सार्वजनिक गरेका हुन्।
कार्यक्रममा मन्त्री पाण्डेले पाण्डेले सरकारले निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्न चाहेको स्पष्ट बताए। निजी क्षेत्र अघि बढेपछि मात्र सकारात्मक परिणाम हासिल गर्न सकिने उनको भनाइ छ।
मन्त्री पाण्डेले संविधानसभा मार्फत २०७२ सालमा जारी भएको नयाँ संविधानसँगै संघीयता कार्यान्वयन गर्न मन्त्रालय नीतिगत रूपमा अघि बढेको जानकारी दिए।
संस्कृति नीति र हवाई नीति हाल मन्त्रिपरिषद्को विधेयक शाखामा छलफलको चरणमा रहेको र मन्त्रालयमार्फत १३ वटा विधेयकसमेत अघि बढिसकेको उल्लेख गरे।
२०६५ सालको पर्यटन नीतिलाई प्रतिस्थापन गर्दै नयाँ ‘पर्यटन नीति २०८२’ ल्याइएको हो।
नयाँ नीतिमा ‘अद्वितीय पर्यटकीय गन्तव्य : नेपाल’ भन्ने शब्दावली नीति संरचनाकै दृष्टिकोणको रूपमा समावेश गरिएको मन्त्रीले जानकारी दिए।
नेपाललाई आकर्षक जीवनपर्यन्त अनुभव, सुरक्षित, भरपर्दो र दिगो गन्तव्यका रूपमा विकास गर्न पर्यटन नीति ल्याइएको उनले बताए।


