काठमाडौँ- मंगलवार नेप्से परिसूचक ३०.७६ अंक बढेको छ। यसँगै नेप्से ३००२.०७ बिन्दुमा पुगेको छ। यो करिब ४ वर्ष यताकै उच्च विन्दु हो। ०८१ साउन ३१ मा नेप्से ३०००.८१ विन्दुमा पुगेको थियो। त्यसअघि २०७८ भदौ १३ गते नेप्से ३०४४.८७ बिन्दुमा पुगेको थियो। त्यसपछि आजको सूचक सबैभन्दा बढी अंकमा पुगेको हो।
नेप्से परिसूचक चार वर्षयताकै उच्च बिन्दुमा पुगेर बन्द हुँदा सेयर बजारको आकार ५० खर्ब ९ अर्ब रूपैयाँभन्दा बढी पुगेको छ। बजार लगातार बढ्न थालेसँगै सेयर बजारको आकार (बजार पुँजीकरण) ले नयाँ रेकर्ड बनाएको हो। बजार पुँजीकरणलाई सेयर बजारमा रहेको लगानीकर्ताहरूको सम्पत्ति भनिन्छ।
नेप्से बढेर बजार पुँजीकरणले रेकर्ड बनाएपनि मंगलवार कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार १९ अर्ब ३६ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२१ स्टकको १ लाख ५७ हजार ५२५ पटकको कारोबारमा १८ अर्ब ५२ करोड ९३ लाख २२ हजार रुपैयाँबराबरको ४ करोड १८ लाख ८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
४ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ। मुक्तिनाथ कृषि कम्पनी, ट्रेड टावर, सान्भि इनर्जी र नाडेप लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन नेपाल वेयरहाउजिङ्ग कम्पनीको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ भने माइ खोला हाइड्रोपावर र ग्रीन भेन्चर्सको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य सर्वाधिक ८.६० प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन हिमालयन डिस्टिलरी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ६४ करोड ४१ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन ग्रीन भेन्चर्सको करिब ६४ करोडको शेयर किनबेच भएको छ। भने नेपाल पुनर्बीमा कम्पनीको करिब ५७ करोडको शेयर खरिदबिक्री भएको छ।
१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। अन्य समूहको उपसूचक सर्वाधिक २.५८ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन बैंकिङ्ग, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन विकास बैंक, वित्त उपसमूह र व्यापार उपसमूहको परिसूचक सामान्य घटेको हो।
३२१ वटा धितोपत्रको चार करोड १८ लाख ८ हजार ९६६ कित्ता सेयर किनबेच भएको हो। मंगलबार १७६ कम्पनीको सेयर मूल्य बढेको छ भने ७४ वटाको घटेको छ।


