काठमाडौं– विशेष अदालतले राजस्व चुहावट मुद्दामा सहसचिव चूडामणि शर्मासहित ३ जनालाई दोषी ठहर गरेको छ।विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यद्वय यमुना भट्टराई र शालिग्राम कोइरालाको संयुक्त इजलासले शर्मालाई दोषी ठहर गरेको हो। कर फस्र्याेट आयोगमार्फत व्यापारीलाई कर छुट दिएर भ्रष्टाचार गरेको अदालतले ठहर गरेको हो।
सरकारले २०७१ मा कर फस्र्याेट गर्न आयोग गठन गरेको थियो। त्यसमा चार्टर्ड एकाउन्टेन्ट लुम्बध्वज महत संयोजक थिए भने उमेश ढकाल सदस्य थिए। आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्मा आयोगका सदस्य सचिव थिए ।
आयोगका पदाधिकारीले राजस्व चुहावट गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको थियो। १ साउन २०७४ मा दर्ता भएको मुद्दामा बिहीबार फैसला आएको हो।
विशेष अदालतले शर्मासँगै आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकाललाई पनि दोषी ठहर गरेको छ। सजाय निर्धारणका लागि २५ जेठमा पेशी तोकिएको विशेष अदालतले बताएको छ।


