काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीले दैनिक एक हजार बढीले रास्वपाको सदस्यता लिने गरेको दाबी गरेको छ।
बिहीवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा पार्टीका प्रवक्ता मनीष झाले यस्तो दाबी गरेका हुन्। उनका अनुसार अहिले रास्वपामा पार्टी प्रवेशको लर्को लाग्ने गरेको छ।
बिहीवार पार्टी प्रवेश गर्नेहरु सशस्त्र प्रहरी बल, नेपालका डिआइजी भई सेवानिवृत्त भएका दुर्गा भट्टराई, सशस्त्र प्रहरी बलमै रहेर सेवा निवृत्त भएका विश्वेश्वर थापा रास्वपामा प्रवेश गरेका बताए। त्यस्तै शोभा जोशी, मिन्तिरा लामा र नेपाली सेनामा कर्नेल भई काम गरिसकेका डा. प्रद्युम्न पौडेल पनि रास्वपामा प्रवेश गरेका बताए।
झाले भने, ‘सशस्त्र प्रहरीको डिआईजीको रूपमा काम गरिसक्नुभएका दुर्गा भट्टराई, उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीमा संलग्न हुनुभएको छ। एसएसपी विश्वेश्वर थापा, सशस्त्र प्रहरी बलकै रिटायर हुनुहुन्छ। अन्ताराष्ट्रिय लायन्स क्लबका पूर्वगभर्नर रहनुभएको छ, शोभा जोशीले पनि हाम्रो पार्टीमा जोडिनुभएको छ। अहिले हामीकहाँ दैनिक हजार जनाभन्दा बढीले सदस्यता लिइरहनुभएको छ। मिन्तिरा लामा पनि जोडिनुभएको छ। रिटायर्ड कर्नेल डा. प्रद्युम्न पौडेल हुनुहुन्छ। ललितबहादुर श्रेष्ठ हुनुहुन्छ।’
पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले उनीहरूलाई पार्टीमा प्रवेश गराएका थिए।







