फिक्कल- इलाम सदरमुकामस्थित ‘नेपाल–भारत मैत्री शीत भण्डार’ विगत १४ वर्षदेखि प्रयोगविहीन बनेको छ। इलाम नगरपालिका–९ सेरामा करोडौं खर्चेर निर्माण गरिएको सो शीत भण्डार प्रयोगविहीन बनेको हो।
सन्दकपुर गाउँपालिका–३ का किबी किसान देउकुमार राईले सो शीत भण्डार सञ्चालन नभएकाले उत्पादित किबी भण्डारण गरेर राख्न नसकेको गुनासो गरे। ‘सिजनमै बिक्री गरिसक्नुपर्छ, अफ सिजनमा बिक्री गर्न सके मूल्य बढी पाइने थियो,’ उनले भने, ‘हामीले सिजनमा यताबाट सस्तोमा बेचेको किबी अफ सिजनमा भारतबाट महँगो भएर आउँछ।’ शीत भण्डार सञ्चालन गर्न सकिएमा यहाँ उत्पादिन फलफुल र तरकारीले राम्रो मूल्य पाउने उनको भनाइ छ।
शीत भण्डार सञ्चालन नहुँदा यहाँ उत्पादित तरकारी तथा फलफुल महँगोमा झापा, मोरङलगायतका जिल्लामा लगेर भण्डारण गर्नुपर्ने बाध्यता छ। आफ्नो उत्पादन सस्तोमा बेच्नुपर्दा कृषिप्रति निरुत्साहित हुने गरेको इलाम नगरपालिका–८ का किसान उमेशचन्द्र महतको गुनासो छ।
इलाम नगरपालिकाले पटकपटक प्रयास गरेपनि शीत भण्डारसञ्चालनमा ल्याउन नसकिएको जनाएको छ। २० लाख किलोग्राम क्षमताको शीत भण्डार निर्माण गर्दा डिजाइनमा त्रुटी भएका कारण सञ्चालन गर्न नसकिएको नगरपालिकाको भनाइ छ।
प्रमुख प्रशासकीय अधिकृत गणेशकुमार खड्काले अहिलेको प्रविधि अनुसारको संरचना नभएकाले सञ्चालन गर्न नसकिएको बताउनुभयो। ‘हाम्रो शीत भण्डारको संरचना अहिलेको प्रविधि अनुसारको रहेनछ, एउटै च्याम्बरमा सबै खालका वस्तु राख्नेगरी बनाइएको रहेछ,’ प्रमुख प्रशासकीय अधिकृत खड्काले भने, ‘पछिल्लो पटक नीजि क्षेत्रका केही टोलीहरु हेर्न आएका थिए, तर शीत भण्डारको संरचना हेरेपछि उनीहरु त्यतिकै फर्किए।’
शीत भण्डार सञ्चालनमा नआउनुको मुख्य प्राविधिक कारण ‘सिंगल च्याम्बर’ हुनु हो। यसको मतलब, यो भण्डारमा एक पटकमा एकै खाले उत्पादन मात्र राख्न मिल्छ। आलुलाई आवश्यक पर्ने तापक्रम र स्याउलाई चाहिने तापक्रम फरक हुन्छ। त्यसैले, फरक-फरक उत्पादन एकै ठाउँमा राख्दा ती बिग्रन सक्छन्। यसलाई ’मल्टिच्याम्बर’ बनाएर फरक तापक्रममा फरक-फरक उत्पादन राख्ने व्यवस्था गर्नुपर्ने आवश्यकता छ, जुन अहिलेसम्म पूरा भएको छैन।
शीत भण्डार सञ्चालनमा ल्याउन यसलाई फरक तापक्रममा विभिन्न वस्तु राख्न मिल्ने ‘मल्टी च्याम्बर’ बनाउनुपर्ने आवश्यकता औँल्याइएको छ। रु पाँच करोड ४९ लाख ६७ हजार ६४६ मा २०६८ सालमा निर्माण गरिएको थियो। भारत सरकारको रु चार करोड ३९ लाख तीन हजार ८०८, नेपाल सरकारको रु ६७ लाख ५८ हजार ५४६ र इलाम नगरपालिकाको रु ४३ लाख पाँच हजार २९२ को लागतमा सो शीत भण्डार निर्माण गरिएको थियो।
भण्डारणका लागि उपयोग हुने करोडौं मूल्यका उपकरणहरूमा खिया लागिसकेको छ। समयमै मर्मतसम्भार र व्यवस्थापन नहुँदा यो भवन र यसका सबै उपकरणहरू सदाका लागि प्रयोगविहीन बनेसरह भएका छन्।
अहिले यो ठाउँ थोत्रा गाडी राख्ने ग्यारेजमा परिणत भएको छ। करोडौंको लगानीमा बनेको संरचना कवाडी गाडी राख्न प्रयोग हुँदा सर्वसाधारण भने सरकारप्रति निराश छन्।


