रौतहट– रौतहटमा सुटकेसभित्र प्याक गरिएको अवस्थामा महिलाको शव फेला परेको छ। शनिबार राति सुटकेसभित्र महिलाको शव भेटिएको रौतहट प्रहरीले जानकारी दिएको हो।
रौतहटको गौर-सिरसिया सडकखण्ड अन्तर्गत मुडवलबा मोड नजिक शनिबार राति १०:३० बजे शङ्कास्पद सुटकेस फेला परेको थियो।
प्रहरीका अनुसार डोरीले बाँधिएको अवस्थामा फेला परेको सो सुटकेसभित्र महिलाको शव भेटिएको हो। रौतहटका डिएसपी राजन कार्कीका अनुसार प्रहरीले आइतवार बिहान सुटकेस खोलेर हेर्दा अन्दाजी ३० वर्षीया महिलाको शव भेटिएको हो।
हत्या गरी शव सुटकेसमा हालिएको हुन सक्ने प्रहरीको अनुमान छ। घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
