काठमाडौँ- हरितालिका तीज पर्वको अवसरमा पशुपति क्षेत्र विकास कोषले भगवान पशुपतिनाथको दर्शनका लागि भक्तजनलाई सहज र व्यवस्थित रूपमा दर्शन गर्न सकिने व्यवस्था गरेको छ।
आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत कोषले चार फरक–फरक मार्गमार्फत भक्तजनले दर्शन गर्न सक्ने व्यवस्था गरिएको जानकारी दिएको हो।
कोषका अनुसार भक्तजनको भीडलाई व्यवस्थित गर्नका लागि सुरक्षाकर्मी, स्वयंसेवक, तथा विभिन्न सेवा संयन्त्रहरू परिचालन गरिनेछन्। चन्दनप्रसाद वितरण, जुत्ता–चप्पल कक्ष, आकस्मिक स्वास्थ्य सेवा, तथा भजन–कीर्तनको समेत व्यवस्था मिलाइएको छ।
कोषले भक्तजनको सुविधाका लागि सम्पूर्ण तयारीहरू अन्तिम चरणमा पुगेको जनाएको छ। पर्वको दिन हजारौं भक्तजनको उपस्थिति रहने भएकाले सम्पूर्ण संरचनालाई व्यवस्थित र भक्तिमय वातावरणमा राख्ने लक्ष्य लिइएको छ।
कोषले भक्तजनले छिटो र सहज रूपमा दर्शन गर्न सकुन् भनेर बिहान ३ बजेबाट नै मन्दिरका चारै ढोका खुला गरिने समेत जनाएको छ।
चार दर्शन मार्ग यसप्रकार छन्
१. गौरीघाट–उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर–वासुकी हुँदै भक्तजनले उत्तर ढोकाबाट प्रवेश गरी पश्चिम मूलढोकाबाट निस्कने व्यवस्था मिलाइएको छ।
२. मित्रपार्क–जयवागेश्वरी–पाचागणेश–भिमसेनस्थान–भुवनेश्वरी–शंकराचार्य मठ दक्षिण हुँदै फलामे पुल पश्चिम सानो ढोकाबाट प्रवेश गरी पश्चिम मूलढोकाबाट बाहिर निस्कने व्यवस्था गरिएको छ।
३. पिंगलास्थान–चारशिवालय–पञ्चदेवल–बज्रघर हुँदै भक्तजनले कोटिलिङ्गेश्वर छेउको सानो ढोकाबाट प्रवेश गरी दक्षिण ढोकाबाट बाहिर निस्कने व्यवस्था मिलाइएको छ।
४. तिलगङ्गा–राम मन्दिर हुँदै बागमती नदीको पूर्व किनार र आर्यघाट नजिकको पुल तरेर भक्तजनले पूर्व ढोकाबाट प्रवेश गरी त्यही बाटो हुँदै फर्कने व्यवस्था गरिएको छ।
कोषले आयोजना गरेको पत्रकार सम्मेलन


