काठमाडौँ। नेपाल राष्ट्र बैंकले नेपाली वा विदेशी नागरिकले नगद विदेशी मुद्रा अमेरिकी डलर ५ हजारसम्म (भारुको हकमा अमेरिकी डलर ५,००० बराबर हुन आउने र बैंकबाट विनिमय दर प्रकाशन नहुने अन्य विदेशी मुद्राको हकमा समेत अमेरिकी डलर ५ हजार बराबर) नेपाल ल्याउन पाउने र त्यति रकम ल्याउँदा भन्सारमा स्वघोषणा गर्न नपर्ने सर्कुलर गरेको छ। ५ हजारभन्दा बढी ल्याए भन्सारमा स्वघोषणा गर्नुपर्नेछ।
बुधबार एक सूचना जारी गर्दै केन्द्रीय बैंकले सन् २०१६ नोभेम्बर ९ भन्दा अगाडि चलनचल्तीमा रहेका भारतीय रुपैयाँ ५०० र १००० दरका नोटको कारोवार नगर्न र भारतीय रुपैयाँ २००, ५०० र २००० दरका नोट साथमा राख्न, ओसार पसार गर्न र कारोबार गर्न नपाइने व्यवस्था रहेको भनेको छ।
नेपाली नागरिकले भारत बाहेक अन्य मुलुकमा भारतीय रुपैयाँ लैजान वा अन्य मुलुकबाट भारतीय रुपैयाँ नेपाल ल्याउन नपाउने व्यवस्था रहेको पनि सूचनामा उल्लेख गरिएको छ।



