काठमाडौँ। बुङ्गल हाइड्रो लिमिटेडको साधारण शेयर (आईपीओ)मा आज (भदौ १६) देखि सर्वसाधारणले आवेदन दिन सक्नेछन्। पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शेयर निष्काशन तथा बाँडफाटपश्चात् कम्पनीले आजदेखि सर्वसाधारणका लागि शेयर निष्काशन गरेको हो।
यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि ८ लाख ३० हजार ८२४ कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि २ लाख ७ हजार ५०० कित्ता निष्काशन गरी बाँडफाँट गरिएको थियो। त्यसपश्चात् एक लाख ३ हजार ७५० कित्ता साधारण शेयर सामूहिक लगानी कोषका लागि र ६२ हजार २५० कित्ता शेयर कर्मचारीहरूका लागि सुरक्षित गरेर बाँकी रहेको १७ करोड १ लाख ५० हजार रुपैयाँ बराबरको १७ लाख १ हजार ५०० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। प्रतिकित्ता प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा उक्त शेयर खरिद गर्न सकिने छ।
कम्पनीले जारी पूँजी ८३ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात २९ करोड ५ लाख रुपैयाँ बराबरको २९ लाख ५ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो।
आईपीओमा छिटोमा भदौ १९ गतेभित्र आवेदिन दिनुपर्नेछ। सो अवधिभित्र प्रर्याप्त आवेदन नपरेमा भदौ ३० गतेसम्म म्याद थप हुनेछ। न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सकिने छ।


