काठमाडौँ। काठमाडौँको थापाथलीस्थित विभिन्न गाडीका शोरुम पूर्ण रूपमा जलेर नष्ट भएका छन्। मंलबार जेनजीहरूको आन्दोलनमा सहभागी युवाहरूले थापाथलीस्थित अटोहब रहेको थापाथलीस्थित विभिन्न शोरुमहरूमा तोडफोडसहित आगजनी गरेका थिए।
हुन्डाई, टाटा, महिन्द्रा, सुजुकी, सिजी मोटर्स आदि कम्पनीका सोरुममा आन्दोलनकारीले आगो लगाएका थिए।
सामाजिक सञ्जाल प्रतिबन्धपछि भ्रष्टाचारविरुद्ध जेनजी युवाहरूले गरेको प्रदर्शनका क्रममा गत सोमबार सरकारी दमनका कारण १९ जनाको हत्या भएपछि जेनजी प्रदर्शनले मंगलबार उग्र रूप लिएको थियो। सुरुमा विभिन्न दलका शीर्षस्थ नेताहरूको घर र पार्टी कार्यालय हुँदै सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, विभिन्न प्रहरी कार्यालयहरू हुँदै प्रदर्शनकारीहरूले निजी क्षेत्रमा समेत आगजनी गरेका थिए।


