हेटौँडा: हेटौँडा उपमहानगरपालिका–१० फरेष्टीगेट अगाडि सोमबार साँझ करिब ६ बजे खुकुरी प्रहारबाट एक व्यक्ति घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार अन्दाजी ३५ वर्षका मकवानपुरगढी गाउँपालिका–५ निवासी प्रेम घिमिरेमाथि अज्ञात व्यक्तिले खुकुरी प्रहार गरेका हुन्। घिमिरेको अवस्था मध्यम रहेको छ र थप उपचारका लागि भरतपुर रेफर गरिएको छ।
स्थानीयहरूका अनुसार घिमिरे जेनजी आन्दोलनमा सक्रिय रहेको भन्दै विवाद भएको थियो भने केहीले खुकुरी प्रहार गर्ने व्यक्ति एमाले, काँग्रेस र माओवादीसँग जोडिएको दाबी गरेका छन्।
तर प्रहरीले घटनामा संलग्न व्यक्ति वा समूहको पहिचान पुष्टि गरेको छैन। प्रहरीले दोषीको पहिचान र पक्राउका लागि खोजी कार्य तीव्र पारेको जनाएको छ।


