काठमाडौं । अर्थतन्त्रको पुनर्निर्माण नवनिर्माण र पुनरोत्थानमा निजी क्षेत्रले सरकारसँग सहकार्य गर्ने भएको छ। नव नियुक्त अर्थमन्त्री रामेश्वर खनालसँग मंगलबार अर्थ मन्त्रालयमा भएको छलफलमा निजी क्षेत्रका प्रतिनिधिहरुले उक्त प्रतिवद्धता जनाएका हुन।
हालैको आन्दोलनका क्रममा भएको क्षतिको आंकलन गरि पुनर्निर्माणका लागि सरकारले कोषसमेत खडा गरिसकेको छ।
हामी आफैले पनि क्षति बेहोरेका छौ, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले भने, ‘हामी पनि उठदै र सरकारलाई पनि सघाउँदै सहकार्य गर्न हामी तयार छौ।’
अध्यक्ष ढकालले अर्थमन्त्रीलाई अर्थतन्त्र पुनःस्थापना र सुशासन कायम गर्न निजी क्षेत्र र सरकारबीच निरन्तर संवाद संयन्त्र निर्माण गर्न, व्यवसायीलाई आत्मविश्वासका साथ खुला रूपमा व्यवसाय गर्न सक्ने वातावरणको सुनिश्चितता कायम गर्न, राजस्व बुझाउने समय थपेर जरिवाना र दण्ड हटाउने व्यवस्था गर्न सुझाव दिए ।
महासंघले सोमबार २५ गतेसम्म बुझाउनुपर्ने राजस्व विवरणको समय थपको माग गरेको थियो।नवनियुक्त अर्थमन्त्री खनालले मंगलबार एक महिना थप गर्ने मन्त्रीस्तरिय निर्णय गरेका छन्।
सोही छलफलमा महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले निजी क्षेत्रले सामाजिक उत्तरदायित्वअन्तर्गतको रकमबाट पनि पुनरोत्थानमा सहयोग उपलब्ध गराउन सक्ने सुझाए।
छलफलमा महासंघका प्रतिनिधिहरुले २०२६ मा नेपाल अतिकम विकसित मुलुकबाट विकासशीलमा स्तरोन्नति हुने तयारीमा रहेको अवस्थामा भएको क्षतिले समस्या उत्पन्न हुनसक्ने तर्पm सरकारको ध्यानाकर्षण गराएका छन्।
यस्तै समस्या भोगेको बंगलादेशले गरी व्यापार सुविधाबाट वञ्चित हुने भएकाले स्तरोन्नतिको निर्णय पर सार्न खोजिरहेको छ। नेपालले पनि अहिले नै यसबारे निर्णय नगरे ढिला हुने व्यवसायीको भनाई छ।
छलफलका क्रममा आन्दोलनमा प्रभावित व्यवसायीलाई कर्जाको पुनर्संरचना र पुनर्तालिकीकरण सुविधा, लगानी आकर्षित गर्न आयकरमा छुट दिन अध्यक्ष ढकालले आग्रह गरेका छन्।
युवा पुस्ताले चुस्त सरकारी सेवा चाहिरहेको बताउनु अध्यक्ष ढकालले सूचना प्रविधिको उच्चतम प्रयोग र सदाचार काम गर्न सबैले पहल गर्नुपर्नेमा जोड दिए।
‘यो अवस्थामा मूल्य अभिवृद्धि कर दर घटाउने वा उपभोग्य वस्तुमा न्यून दर लागू गर्ने, भारतीय पर्यटक आकर्षित गर्न विशेष प्याकेज घोषणा उर्पयुक्त हुन्छ । कर छुट, साना तथा मझौला उद्यमका लागि उत्पादनमा आधारित राहत र सहुलियतपूर्ण कर्जा आवश्यक छ साथै बजेट पुनरावलोकन गरी अनावश्यक शीर्षकको रकम पुनर्निर्माणमा उपयोग गर्न सकिन्छ’ अध्यक्ष ढकालले भने।
उक्त अवसरमा नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्र पाण्डेले वर्तमान परिस्थतीमा व्यवसायीको आत्मविश्वास मजवुत बनाउँदै पुनरुत्थानमा जुट्नु पर्ने र त्यसको लागि आफुहरु तयार रहेको बताए।
नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेशकुमार अग्रवालले नेपाली अर्थतन्त्रमा निजी क्षेत्रको ठूलो योगदान रहको चर्चा गर्दै व्यवसायीको आत्मबल उठाउँदै अघि बढ्नु पर्ने आवश्यक्ता औल्याएका थिए। नाडा अटोमोबाइल एसोसिएसनका अध्यक्ष करण चौधरीले अटो क्षेत्रमा ठूलो क्षति भए पनि सबै मिलेर पुनरोत्थानको काम गर्नुपर्ने जोड दिए।
यस्तै आन्दोलनका क्रममा ठूलो क्षति बेहोरेको भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङ्गले आपूm अभैm पनि निरन्तर लगानी, रोजगारी सिर्जना र राजस्वमा योगदान दिन चाहिरहेको बताए।
व्यवसायीहरुका सुझावपछि अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको साथ लिएरै अर्थतन्त्र सुधारका काम गरिने जानकारी दिए। उनले निजी क्षेत्रको मागअनुसार तत्काल राजस्व विवरण बुझाउने समय एक महिना थप गर्ने निर्णय गरेको जानकारी दिए।
छलफलका क्रममा चालूपुँजी कर्जा मार्गदर्शन कम्तीमा दुई वर्ष स्थगन लगायतका वित्तिय सहुलियत तत्काल दिन सकिनेतर्फ व्यवसायीहरुले अर्थमन्त्री खनालको ध्यानाकर्षण गराएका थिए ।


