काठमाडौँ: गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनका क्रममा बहुराष्ट्रिय कम्पनी एनसेलमा पनि तोडफोड एवं आगजनी भएकोमा त्यहाँबाट महत्त्वपूर्ण सामानहरू चोरिएको कम्पनीले बताएको छ। प्रदर्शनीका क्रममा एनसेल कर्पोरेट टावरमा प्रदर्शनकारीले आगजनी गरेका थिए भने पोखरा, धनगढी र महेन्द्रनगर क्षेत्रिय कार्यालयमा पनि तोडफोड एवं लुटपाट भएको थियो।
कम्पनीले एक सूचना जारी गर्दै आन्दोलनका नाममा मौका छोपी भदौ २४ गते विभिन्न समूहहरूले मुख्यालय ‘एनसेल आइकन’ लैनचौर, काठमाडौंसहित महेन्द्रनगर, धनगढी र पोखरास्थित क्षेत्रीय कार्यालयहरूलाई गम्भीर क्षति पुर्याएको बताएको छ। प्रदर्शनकारीहरूले आगजनी र तोडफोड गर्नुका साथै कम्पनीका सक्कल प्रमाणपत्र, अनुमतिपत्र, जग्गाधनी प्रमाणपुर्जा(लालपुर्जा), नगद, सेफहरू एवं कार्यालयका महत्वपूर्ण अन्य कागजात आगजनी र डकैती गरी लुटेर लगिएका कम्पनीले बताएको छ।
यसैगरी ल्यापटप, टेलिभिजन, अत्यावश्यक विद्युतीय उपकरणहरू लगायतका सामानहरू, कर्मचारीका ल्यापटप र उनीहरूका लकर समेत फोडी व्यक्तिगत सामान तथा गरगहनाहरू चोरी भएको सूचनामा उल्लेख गरिएको छ।
तोडफोड, आगजनी र डकैतीका घटनाको आवश्यक अनुसन्धान र कारबाहीका लागि कम्पनीले जिल्ला प्रहरी कार्यालय, काठमाडौंमा सिसिटिभी फुटेजहरूसहित उजुरी दर्ता गरिसकेको छ।
कसैले एनसेल आइकनसहित महेन्द्रनगर, धनगढी र पोखरास्थित क्षेत्रीय कार्यालयहरूबाट यस्ता उपकरण र सामानहरू लिएको वा प्राप्त गरेको भए ती सामानहरू नजिकैको प्रहरी कार्यालयमा बुझाइदिन अनुरोध कम्पनीले गरेको छ। अन्यथा कानुनबमोजिम कारबाही हुने चेतावनी पनि कम्पनीले दिएको छ।


