काठमाडौँ: संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ यस वर्ष विगतमा झैँ विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ। राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम आयोजना गरी दिवस मनाइएको हो।
समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत गृहमन्त्री ओमप्रकाश अर्याललगायत सहभागी छन्। सरकारले आयोजना गरेको संविधान दिवस कार्यक्रममा पूर्वप्रधानमन्त्रीहरूमध्ये डा. बाबुराम भट्टराई मात्रै सहभागी छन् ।
जेनजी युवा आन्दोलनपछि रक्षात्मक अवस्थामा पुगेका प्रमुख राजनीतिक दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा माओवादी केन्द्रले आफ्नै पार्टी कार्यालयमा संविधान दिवस मनाउँदैछन्।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टी कार्यालय पुगिरहँदा यता एमालेले भने उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको अध्यक्षतामा संविधान दिवस मनाएको छ। बिहीबार मात्रै सैनिक सुरक्षाबाट बाहिर निस्किएका एमाले अध्यक्ष केपी शर्मा ओली कार्यक्रममा सहभागी भएनन्।
जेनजी प्रदर्शनकारीले गरेको कुटपिटबाट घाइते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अस्पतालमा उपचाररत छन्।



































