काठमाडौं: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले जेन-जी आन्दोलनका क्रममा हालसम्म ८० अर्ब रुपैयाँ बराबरको क्षति भएको बताएका छन्।
प्रधानमन्त्री सुशीला कार्कीसँग आइतबार भएको छलफलका क्रममा महासंघका अध्यक्ष ढकालले देशैभरको क्षति विवरण संकलन गरिरहेको र हालसम्म उपलब्ध तथ्यांक र सूचनाका आधारमा ८० अर्ब रुपैयाँ बराबरको निजी सम्पत्ति क्षति भएको प्रारम्भिक आंकलन रहेको जानकारी गराए।
विशेषगरि ठूलो क्षति भएका उद्योग र साना एवं राजधानी बाहिरका केही व्यवसायको विवरण आउन नसकेको र कतिपय दोहोरोपन पनि देखिएको छ। महासंघले जतिसक्दो चाँडो क्षति विवरण उपलब्ध गराउने गरि देशैभर सर्वेक्षण गरिरहेको उनले जानकारी दिए।
आन्दोलनका क्रममा भाटभटेनी सुपरस्टोर, पाँचतारे हिल्टन होटल, चौधरी ग्रुपलगायत थुप्रै व्यवसायिक घरनामा अर्बौं रुपैयाँको क्षति पुगेको छ। होटल संघ नेपालले दुई दर्जन होटलमा २५ अर्ब रुपैयाँ क्षति भएको प्रारम्भीक जानकारी दिएको छ।
उनले मुलुकको अर्थतन्त्रको नवर्निर्माण र पुनरोत्थानका लागि निजी क्षेत्रले सरकारसँग सुरक्षा समन्वय र सहकार्यका लागि आग्रह गरेका छन्। उनले निजी क्षेत्रले सम्मानित रुपमा काम गर्न सक्ने वातावरणका लागि आवश्यक सहयोग र सुरक्षाको अपेक्षा सरकारसँग रहेको बताए।
उनले आन्दोलनका क्रममा आक्रामण हुनुले निजी क्षेत्रको महत्व बुझ्न नसकिएको रुपमा हेर्न सकिने दाबी गरे। महासंघ र अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) ले गरेको अध्ययनअनुसार अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ८१ प्रतिशत छ। यस्तै ८६ प्रतिशत रोजगारी निजी क्षेत्रले दिइरहेको छ।
युवा पुस्ताको आन्दोलनका क्रममा भएको घुसपैठका कारण निजी क्षेत्रले ठूलो जनधनको क्षति बेहोरेको हुँदा दोषी माथि कारवाही हुनुपर्ने निजी क्षेत्रको माग छ। कारवाही हुन नसके दण्डहीनताको अवस्था सिर्जना भै निजी लगानी थप निरुत्साहित हुनेतर्फ निजी क्षेत्रका प्रतिनिधिहरुले उक्त छलफलमा सरकारको ध्यानाकर्षण गराएका छन्।


