काठमाडौँ: निर्माण सामग्री उत्पादनमा संलग्न एसवाई प्यानल नेपाल लिमिटेडले आज (मंगलबार) देखि आईपीओ निष्काशन प्रक्रिया सुरु गरेको छ। कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई लक्षित गर्दै साधारण शेयर निष्काशन गरेको हो।
कम्पनीले १ अर्ब ३० करोड ८९ लाख ३७ हजार १०० रुपैयाँ बराबरको जारी पूँजीमध्ये ४० प्रतिशत अर्थात् ५२ करोड ३२ लाख ५४ हजार ८०० रुपैयाँको ५२ लाख ३२ हजार ५४८ कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति पाएको छ।
यसअन्तर्गत २ लाख ६१ हजार ६२९ कित्ता (२%) शेयर उद्योग प्रभावित चितवन जिल्ला, रत्ननगर नगरपालिकाका सबै वडाका स्थानीयवासीका लागि छुट्याइएको छ। ४ लाख ९७ हजार ९२ कित्ता (१०%) शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला गरिएको छ।
आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। उद्योग प्रभावित क्षेत्रका लागि छिटोमा असोज २१ र ढिलोमा कात्तिक ९ गतेसम्म र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छिटोमा असोज १० र ढिलोमा असोज २१ गतेसम्म आवेदन दिन सकिनेछ।
पहिलो चरणको आईपीओ बाँडफाँडपश्चात् कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ जारी गर्नेछ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।


