काठमाडौँ: नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सूचीकृत कम्पनीहरूलाई समयमै नवीकरण शुल्क बुझाउन निर्देशन दिएको छ। बुधबार एक सूचना सार्वजनिक गर्दै नेप्सेमा सूचीकृत कम्पनीहरूले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को अनुसूची ३ (क) र (ख) मा भएको व्यवस्था बमोजिम असोज मसान्तसम्म आर्थिक वर्ष २०८२/८३ को धितोपत्रको वार्षिक नवीकरण शुल्क बुझाउन निर्देशन दिएको हो।
धितोपत्रको वार्षिक नवीकरण शुल्क ५० करोडसम्म चुक्ता पुँजी भएका कम्पनीको ५० हजार र सोभन्दा माथि भएकाको १ लाख रुपैयाँ रहेको छ।
सामूहिक लगानी कोषको ५० करोडसम्म चुक्ता पुँजी भएका कम्पनीले २५ हजार र सोभन्दा बढी चुक्ता पुँजी भएकाले ५० हजार रुपैयाँ नवीकरणका लागि बुझाउनुपर्छ।
नवीकरणका लागि कमलादी शाखा रहेको नेप्सेको ग्लोबल आईएमई बैंकको ०७५०१०१००००७७५ खाता नम्बरमा रकम पठाउन सकिन्छ। उक्त भुक्तानीको भौचर [email protected] मा पठाउनुपर्नेछ।
तोकिएको समयमा नवीकरण शुल्क नबुझाएमा नवीकरण शुल्कको वार्षिक १० प्रतिशतका दरले जरिवाना लाग्ने र धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम १६ अनुसार सूचीकरण स्थगन पनि हुनसक्ने चेतावनी नेप्सेले दिएको छ।


