काठमाडौं। गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलन हिंसात्मक बन्दा मुलुकमा ठूलो धनजनको क्षति हुन गयो। आन्दोलनका क्रममा भौतिक संरचनामा ठूलो क्षति पुग्यो। खर्बौं रुपैयाँको क्षति भएको अनुमान गरिएको छ। यद्यपि, क्षतिको विवरण आएको छैन्।
निजी क्षेत्रमा भएको क्षतिको दाबी बढ्दै गएको छ। हालसम्म २३ अर्ब ३९ करोड २७ लाख रुपैयाँबराबरको दाबी परेको नेपाल बिमा प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार, विभिन्न १८ निर्जिवन बीमा कम्पनीमा उक्त रकमबराबरको २९ सय ८८ दाबी परेको छ।
रकमका आधारमा सबैभन्दा बढी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडमा दाबी परेको प्राधिकरणले जनाएको छ। सिद्धार्थ प्रिमियममा हालसम्म पाँच अर्ब ४५ करोड ९३ लाख रुपैयाँबराबरको ३०७ वटा दाबी परेका छन्। दोस्रो स्थानमा भारतको दि ओरियन्टल इन्स्योरेन्स लिमिटेड रहेको छ। ओरियन्टलमा पाँच अर्ब २३ करोड २४ लाख रुपैयाँबराबरको ८६ वटा दाबी परेका छन्। ओरियन्टलमा सबैभन्दा ठूलो दाबी पाँचतारे हिल्टन होटलको परेको छ।
तेस्रो नम्बरमा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड रहेको छ। आइजीआई प्रुडेन्सियलमा दुई अर्ब ७९ करोड ६६ लाख रुपैयाँबराबरको १९६ दाबी परेका छन्।
चौथौ नम्बरमा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको दुई अर्ब ३९ करोड १३ लाख रुपैयाँको ३९७ वटा दाबी परेको समितिले जनाएको छ।
सवा २२ अर्बको बीमा दाबी, ओरियन्टल इन्स्योरेन्सको सबैभन्दा बढी
प्राधिकरणका अनुसार पाँचौं स्थानमा रहेको सगरमाथा लुम्बिनी इन्स्योरेन्स लिमिटेडको एक अर्ब ५७ करोड ५९ लाख रुपैयाँबराबरको ३२२ वटा दाबी परेका छन् भने छैठौं हिमालय एभरेष्ट इन्स्योरेन्स लिमिटेडको एक अर्ब २३ करोड ७८ लाख रुपैयाँबराबरको २६१ वटा दाबी परेको छ।
यसैगरी नेको इन्स्योरेन्स लिमिटेडको एक अर्ब १२ करोड ४३ लाख रुपैयाँबराबरको २२९ वटा दाबी परेको छ। सरकार स्वामित्वको राष्ट्रिय बिमा कम्पनी लिमिटेड ९० करोड ६८ लाख, सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको ८४ करोड ४४ लाख र १० औं नम्बरमा रहेको युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड ५३ करोड २० लाख रुपैयाँ दाबी परेको छ।
रकमका आधारमा सिद्धार्थ प्रिमियर हुँदा दाबी संख्याका आधारमा शिखर इन्स्योरेन्स अगाडी रहेको छ। शिखरमा ३९७ वटा दाबी परेको छ।
सबैभन्दा बढी दाबी सम्पत्ति बिमामा परेको छ। सम्पत्ति बिमामा १९ अर्ब तीन लाख रुपैयाँबराबरको ५९४ वटा दाबी परेको छ। यसैगरी मोटर बिमामा तीन अर्ब ६५ करोड रुपैयाँबराबरको २२ सय नौ दाबी परेको छ।
यता निजी क्षेत्रले ८० अर्ब रुपैयाँबराबरको क्षति भएको अनुमान गरेको छ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले जेनजी आन्दोलनका क्रममा हालसम्म ८० अर्ब रुपैयाँ बराबरको क्षति भएको बताएका छन्।
महासंघका अध्यक्ष ढकालले देशैभरको क्षति विवरण संकलन गरिरहेको र हालसम्म उपलब्ध तथ्यांक र सूचनाका आधारमा ८० अर्ब रुपैयाँ बराबरको निजी सम्पत्ति क्षति भएको प्रारम्भिक आंकलन रहेको जानकारी दिए। महासंघले जतिसक्दो चाँडो क्षति विवरण उपलब्ध गराउने गरी देशैभर सर्वेक्षण गरिरहेको उनले जानकारी दिए।
आन्दोलनका क्रममा भाटभटेनी सुपरस्टोरमा सबैभन्दा बढी क्षति पुगेको छ। व्यवसायिक घरना शंकर ग्रुपको लगानी रहेको पाँचतारे हिल्टन होटलमा पनि ठूलो क्षति भएको छ। आठ अर्ब रुपैयाँ लगानीमा बनेको हिल्टन आगजनीपछि खण्डहरमा परिणत भएको छ। चौधरी ग्रुपलगायत थुप्रै व्यवसायिक घरनामा अर्बौैं रुपैयाँ क्षति पुगेको छ। होटल संघ नेपालले दुई दर्जन होटलमा २५ अर्ब रुपैयाँ क्षति भएको प्रारम्भीक जानकारी दिएको छ।
नेपाल निर्जिवन बीमा व्यवसायी संघले आन्दोलनका क्रममा भएको क्षतिको दाबी भुक्तानी प्रक्रिया चाँडै निष्कर्षमा पुर्याउने प्रतिवद्धता जनाएको छ।
आन्दोलनका क्रममा प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार, मन्त्रालय, सर्वौच्च अदालत, राष्ट्रपतिको भवन, संसद् भवन, सुरक्षा निकाय, प्रहरी कार्यालय,प्रशासकीय संरचना, निजी सम्पत्ति, उद्योग, व्यापार, यातायातलगायतका भौतिक संरचनामा क्षति भएको छ।
बिमाको पुनर्बिमा भएकाले विदेशबाट दाबीवापत ठूलो रकम लगानी आउनेछ। समय समयमा हुने आन्दोलन हिंसात्मक बन्दा ठूलो क्षति हुने गरेको छ। जोखिमका कारण व्यवसायीले धेरै प्रिमिय बुझाउनु पर्ने अवस्था आएको छ।


