काठमाडौं। नेपाल उद्योग परिसंघ (सिएनआई) ले जेनजी आन्दोलनका क्रममा भएको तोडफोड तथा आगजनीका कारण कुल गार्हस्थ उत्पादन (जीडीपी) को पाँच प्रतिशतबराबरको क्षति पुगेको अनुमान गरेको छ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) को नयाँ कार्यसमितिलाई स्वागत गर्ने क्रममा परिसंघका अध्यक्ष वीरेन्द्र पाण्डेले उक्त जानकारी दिएका हुन्। उनले कुनै पनि आन्दोलनमा निजी क्षेत्रमाथिको आक्रमण हुनु दुःखद् भएको बताए।
“पछिल्लो आन्दोलनमा निजी क्षेत्रमा ठूलो क्षति भएको छ, मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको उल्लेख्य योगदान रहँदा पनि यसमाथि निरन्तरको आक्रमण रोक्न सकिएको छैन”, उनले भने, “आन्दोलनका क्रममा जीडीपीको पाँच प्रतिशतमा क्षति पुगेको प्रारम्भिक आकलन छ।”
अध्यक्ष पाण्डेले नागरिक समाज, राजनीतिकर्मी र सर्वसाधरणमा निजी क्षेत्रले पुर्याएको योगदानबारे अझै पनि बुझाउन नसकिएको बताए। “जबसम्म आम मानिसमा निजी क्षेत्रप्रतिको धारणा परिवर्तन गर्न सकिन्न, तबसम्म समस्या रहिरहन्छ, उद्यमशीलता बढाउने, त्यसतर्फ युवालाई केन्द्रित गर्ने विषयमा हाम्रो ध्यान केन्द्रित हुन जरुरी छ”, उनले भने।
उनले आन्दोलनका कारण लगानीकर्तामा संशय उत्पन्न भएको उल्लेख गर्दै अब लगानीमैत्री वातावरण बनाउन सरकारको ध्यान जानुपर्नेमा जोड दिए।
त्यस अवसरमा परिसंघका निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवालले मूल्य अभिवृद्धि कर (भ्याट)लाई बहुदरमा लैजान आवश्यक भएको बताए। “हामीले अध्ययन गरेर सरकारलाई भ्याटमा बहुदर कायम गर्न सुझाव दिएका थियौँ, पाँच, आठ र १३ प्रतिशत गरी भ्याटलाई बहुदरमा लैजान सकिन्छ भन्ने हाम्रो सुझाव थियो” उनले भने।
परिसंघको कोशी प्रदेशका अध्यक्ष पवनकुमार शारडाले सरकारले नीति बनाउँदा सबै क्षेत्रलाई समेट्न जरुरी रहेको बताए।
“हामी विराटनगरमा रहेर काम गरिरहेका छौँ, त्यहाँका समस्या हामीलाई बढी थाहा हुन्छ, त्यहाँका व्यापारीले भारतीय बजारसँग प्रतिस्पर्धा गर्नुपरिरहेको छ”, उनले भने, “सरकारले नीति निर्माण गर्दा हाम्रो अवस्थालाई पनि ध्यान दिन जरुरी छ।” उनले गत भदौमा भएको जेनजी आन्दोलनले मुलुकलाई सुशासनको बाटोमा लैजानका लागि नयाँ अवसर सृजना गरेको समेत उल्लेख गरेका थिए।


