काठमाडौँ: दशैँलाई लक्षित गरेर चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो दुई महिनामा १२ करोड ८० लाख ६२ हजार रुपैयाँ बराबरको तास आयात भएको छ।
भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको पहिलो महिना (साउन) मा ३ करोड ७९लाख ६३ हजार रुपैयाँ बराबरको तास आयात भएको थियो। उक्त तास आयातबाट सरकारले २ करोड बढी राजस्व संकलन गरेको थियो।
तर दशैँमा धेरै तास खपत हुने गरेकाले भदौमा मात्रै ९ करोड ९ लाख ९ हजार रुपैयाँ बराबरको तास आयात भएको छ। उक्त तास आयातबाट सरकारले भदौमा मात्रै ५ करोड बढीको राजस्व संकलन गरेको छ।
तर गत आर्थिक वर्षको सोही अवधिमा ८ करोड ३८ लाख ५९ हजार रुपैयाँको तास आयात भएको थियो। साउनमा २ करोड २६ लाख ९५ हजार र भदौमा ६ करोड ११ लाख ६४ हजार गरी दुई महिनामा ८ करोड ३८ लाख ५९ हजार रुपैयाँको तास आयात भएको थियो। गत आर्थिक वर्षमा तास आयातबाट मात्रै दुई महिनामा ४ करोड ७४ लाख ५६ हजार रुपैयाँ राजस्व संकलन भएको गरेको भन्सार विभागको तथ्याङ्कले देखाएको छ।
चाडपर्वको बेलामा अत्यधिक माग हुने तास विभिन्न मुलुकबाट आयात हुने गर्छ। नेपालमा सबैभन्दा बढी तास चीनबाट आउने गर्छ। त्यस्तै भारत, कोरिया, कुवेत, फिलिपिन्स, कतार, साउदी अरब तथा यूएईलगायत देशहरूबाट समेत तास आयात हुने गरेका छन्।
भन्सार विभागको तथ्यांकअनुसार दशैं तिहारमा विशेषगरी रमाइलो तथा जुवाका रूपमा पैसाको लेनदेन गरी खेलिने तास आयातमा नेपालबाट करोडौँ रुपैयाँ बाहिरिने गरेको छ।
आर्थिक वर्ष ०७९/८० मा २१ करोड २७ लाख ९४ हजार रुपैयाँ बराबरको एक करोड ७७ हजार नौ सय ८९ बुक तास आयात भएको थियो। त्यस्तै ०७८/७९ मा नेपालमा २१ करोड ५४ लाख ४५ हजार रुपैयाँ बराबरको एक करोड ९ लाख ६० हजार ५४७ बुक तास भित्रिएको थियो।


