काठमाडौं। नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावर लिमिटेडले निर्माण गरिरहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ।
आयोजनको हालसम्म ९० प्रतिशत भौतिक प्रगति भएको छ। राहुघाटको सिभिल ठेक्काको सम्झौताको तेस्रो पटक थपिएको म्याद सन् २०२५ नोभेम्बर २७ सम्म छ। सुरुङ, बाँध र विद्युतगृहको भौतिक संरचना निर्माण अन्तिम चरणमा पुुगेको छ। आयोजनामा उपकरण जडान थालिएको रघुुगंगा हाइड्रोपावरका आयोजना व्यवस्थापक राज विष्टले जानकारी दिए।
ठेकेदारले दसैँको समयमा पनि ५०० जना भन्दा बढी मजदुुर परिचालन गरेर निर्माणलाई निरन्तरता दिएको उनले बताए। भारतीय सिभिल ठेकेदार कम्पनी जयप्रकाश एसोसियट्स (जेपी)ले ४५ महिनामा सम्पन्न गर्ने लक्ष्यसहित २०१७ नोभेम्बर १७ (२०७४ मंसिर ६ गते) छ अर्ब रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो।
सन् २०२२ फेब्रुअरीमा पहिलो र सन् २०२२ फेब्रुअरीमा दोस्रो पटक थपिएको म्याद गत जुन २७ मा सकिएको थियो। कोरोना महामारी, बाढी, पहिरोजस्ता प्राकृतिक विपद् र नदीजन्य निर्माण सामग्रीको अभावका कारण आयोजना निर्माणमा ढिलाइ भएको हो।
विसं २०७६ कात्तिकमा एक करोड दुई लाख ९३ हजार २२।३५ अमेरिकी डलरमा इलेक्ट्रोमेकानिकल उपकरण निर्माण तथा आपूर्ति ठेक्का सम्झौता गरेको भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल)ले पनि विद्युतगृह उपकरण आयात र जडानको काम लक्ष्यअनुसार गर्न सकेको छैन। भेलसँगको ठेक्काको म्याद आगामी डिसेम्बर ३१ सम्म छ।
कार्ययोजनाअनुसार ठेकेदारले काम गरेमा आगामी डिसेम्बरमा राहुघाट निर्माणसम्पन्न हुने आयोजना व्यवस्थापक बिष्ट जानकारी दिए। रघुगंगा गाउँपालिका–४ दग्नाम र वडा नं ५ झीँ को फेदीमा बाँध, छ किलोमिटर २७० मिटर लामो मुख्य सुरुङ र तिल्केनीचौरमा विद्युतगृह निर्माणको काम ९० प्रतिशत सकिएको छ।
भारतीय आयात निर्यात (एक्जिम) बैंकको ६ करोड ७० लाख डलर सहुलियतपूर्ण ऋण तथा विद्युत् प्राधिकरण र सरकारकोे संयुक्त लगानीमा इन्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्र्याक्ट (इपिसी) खाकामा राहुघाट जलविद्युत् आयोजना निर्माण सुरु भएको हो।
कमजोर आर्थिक अवस्थाका कारण २०७२ मा पुरानो ठेकेदार आइभिआरसिएलसँगको ठेक्का तोडेर नयाँ प्रक्रियाबाट निर्माण अघि बढाइएको थियो। पछिल्लो पटक छनोट भएको सिभिल ठेकेदार जेपीले २०७५ असारमा पहुँचमार्ग र २०७६ असारमा सुरुङ खन्न सुरु गरेको थियो।
आयोजनाले वार्षिक २४ करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने अध्ययनदे देखाएको छ।
२०७५ चैतमा विद्युत प्राधिकरण र विकासकर्ता कम्पनीबीच विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) भएको थियो। राहुघाटबाट उत्पादन हुने विद्युत् केन्द्रीय ग्रिडमा जोड्न कालीगण्डकी कोरिडोरअन्तर्गत २२० केभी डबल सर्किट क्षमताको दाना–कुश्मा प्रशारण लाइनमा लिलो माध्यमबाट जोडिने छ। चारवटा टावर र प्रसारण लाइन पनि बनिसकेको छ ।


