काठमाडौँ: खानीखोला हाइड्रोपावर लिमिटेडले सर्वसाधारण समूहका लागि बिक्रीमा ल्याई नबिकेको चार लाख ५९ हजार ३४५ कित्ता हकप्रद शेयर लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री गर्ने भएको छ। कम्पनीले गत भदौ ३ गतेदेखि असोज ४ गतेसम्म हकप्रद शेयर बिक्री खुला गरी आवेदन माग गरेकोमा सर्वसाधारणतर्फको उक्त शेयरमा आवेदन परेको थिएन।
आवेदन नपरेको शेयर कम्पनीले लिलाम बढाबढ प्रक्रियामार्फत् बेच्न लागेको हो। धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४ को निर्देशन नंम्बरको १५ को प्रावधानलाई आधार मानी उक्त शेयरहरु बोलकबोल बढाबढ गरी बिक्री गर्ने कम्पनीको सञ्चालक समितिको निर्णयानुसार उक्त शेयरहरु खरिद गर्न इच्छुक व्यक्ति, कम्पनी, संघ, संस्थाहरूले आगामी कात्तिक १२ गतेदेखि कात्तिक १९ गतेसम्म कार्यालय समयभित्र आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।
शेयर खरिदका लागि सिटिजन्स बैंक इन्टरनेसनलका शाखा कार्यालयहरू कुमारीपाटी, ठीमी, इटहरी, बिराटनगर, बिर्तामोड, वीरगञ्ज, सुर्खेत, जनकपुर (भानुचोक), नेपालगंज, नारायणगढ, धनगढी, पोखरा (न्यूरोड), बुटवल (पाल्पा रोड) र हेटौंडाबाट आवेदन दिन सकिने कम्पनीले जनाएको छ।
