जेनजी आन्दोलनपछि जसरी देशको राजनीतिक परिदृश्य बदलिएको छ, त्यसैगरी नेपालका राजनीतिक दलको अवस्था पनि बदलिएको छ। राजनीतिक दलहरू सत्ताबाट सडकमा आएका छन्। संसद् विगठन भएको छ। जेनजीको मागबमोजिम नागरिक सरकार गठन भएको छ। नागरिक सरकारले यही फागुन २१ गतेका लागि प्रतिनिधि सभाको निर्वाचनको मिति तय गरिसकेको छ। समग्रमा भन्नुपर्दा नेपालको संविधान २०७२ ले परिकल्पना गरेको राज्य संचालन विधि भत्केको छ। देश नयाँ राजनीतिक यात्रामा अघि बढी रहेको छ।
लोकतान्त्रिक पद्धतिमा राजनीतिक दलहरू मुख्य आधार हुन्। राजनीतिक दलको सहभागिताबिना लोकतन्त्र बलियो पनि हुन सक्दैन। लोकतन्त्रमा जनतासामु गएर जनादेशअनुसार राजनीतिक पार्टीले सत्ता सञ्चालन गर्दछन्। सोहीअनुसार राज्यका अन्य अंगहरूले पनि आ–आफ्ना जिम्मेवारी र दायित्व पूरा गर्ने गर्दछन्। तर, नेपालमा जेनजी आन्दोलनपछि सबै राजनीतिक दलहरू विगठन उन्मुख रहेका छन्। राजनीतिक दल शुन्यतामा झरेका छन्। पार्टीभित्र तथा बाहिर हुने सबै गतिविधिहरू ठप्प छन्। नेता कार्यकर्ता राजनीतिक बहसबाट भागिरहेका छन्। सबै पार्टीको आगामी कार्यदिशा कता लैजाने वा जाने भन्नेमा अन्योलग्रस्त देखिन्छ। हरेक पार्टीभित्र नेतृत्वप्रति प्रश्न उठिरहेको छ। साथै, वैकल्पिक नेतृत्वको माग उठी रहेको छ। जुन राजनीतिक दलहरूको लागि चुनौतिपूर्ण रहेको छ।
अब नेपाली कांग्रेसको कुरा गरौँ। जेनजी आन्दोलनपछि नेपाली कांग्रेस इतिहासमा गन्तव्यहीन बनेको छ। राणा, पञ्चायत तथा माओवादी विद्रोहको बेलामा पनि सशक्त भूमिका रहेको नेपाली कांग्रेस अहिले भूमिकाहीन बनेको छ। हरेक आन्दोलनको अगुवाई गर्ने नेपाली कांग्रेस जेनजी आन्दोलनमा सत्ताको मतियार बनेर अपजसको भागेदार बनेको छ। देशमा परिवर्तन भयो। तर नेपाली कांग्रेस कतै देखिएन, सुनिएन र भेटिएन। यो एक लोकतान्त्रिक पार्टीका लागि दु:खद् विषय हो।
पार्टी यो अवस्था आउनमा दोषी को हो? कसको कारणले पार्टीको यो अवस्थामा आइपुग्यो? यसको समीक्षा हुँदै जाला। तर जो–जो पार्टीको शीर्ष नेतृत्वमा रहेका छन्, ती सबैले यसको सामूहिक जिम्मेवारी लिनुपर्छ। पार्टी सभापति, उपसभापति, महामन्त्री तथा पदाधिकारी सबैले पार्टी यो अवस्थामा पुग्नको जिम्मा लिनुपर्छ। एकले अर्कोलाई दोष लगाएर मात्र उन्मुक्ति पाइँदैन। सामूहिक नेतृत्वमा जिम्मेवारी पनि सामूहिक नै हुन्छ। यसकारण यसको जिम्मेवार सबै पदाधिकारी बन्नुपर्छ।
पार्टी अहिले इतिहासकै विषम परिस्थितिमा रहेको छ। वर्तमान नेतृत्वप्रति प्रश्न उठेको छ। पार्टीको नेतृत्वको बारेमा उठिरहेको प्रश्नलाई दुई दृष्टिकोणबाट हेरिनुपर्छ। पहिलो, जेनजी आन्दोलनपछिको अवस्थामा वर्तमान नेतृत्व असफल तथा अस्वीकार्य भएकाले वैकल्पिक नेतृत्वको बारेमा बहस भइरहेको छ। जुन जनभावनाको मर्मअनुसार हुनुपर्छ। यो विधिविधान भन्दा पनि विषम परिस्थितिमा आवश्यकता सिद्धान्तअनुसार फेरबदेल गरिनु पर्छ। त्यसको लागि सबैले विश्वास गर्न र सबैलाई समेटेर आगामी निर्वाचनमा लैजान सक्ने सबल नेतृत्वलाई जिम्मा दिनुको अर्को विकल्प छ।
यसका लागि वर्तमान केन्द्रीय कार्यसमितिलाई भंग गरी १५ औं महाधिवेशन आयोजना गर्ने गरी तदर्थ समिति गठन गरी अघि बढ्नुपर्छ। जसले वर्तमान नेतृत्वप्रतिको जनआक्रोश मत्थर हुने र पार्टीलाई नयाँ नेतृत्व मिल्नेछ। साथै, पार्टीभित्र गुट–उपगुटको पनि व्यवस्थापन हुन्छ। र, नेतृत्वमाथि थप आलोचना तथा प्रश्न उठ्दैन।
दोस्रो, नेपाली कांग्रेसको १४ औँ महाधिवेशनपछि निर्वाचित केन्द्रीय कार्यसमितिको म्याद यही मंसिरमा सकिँदैछ। कानुनी हिसाबले पनि मंसिरपछि अहिलेको नेतृत्व अवैधानिक हुन्छ। यसले पार्टीको हैसियत तथा कानुनी वैधतामाथि पनि प्रश्न उठाउँछ। यसकारण पार्टीको मंसिरभित्र नियमित महाधिवेशन गर्न नसके यसले पार्टीलाई थप समस्याग्रस्त बनाउँछ। र, नेतृत्वहीन बनाउँछ। यसकारण विधानले तोकिएको समयसिमाभित्र महाधिवेशन गराउनका लागि पनि पार्टीभित्र सहमति कायम गरेर नयाँ जिम्मेवारी दिइनु पार्टीका लागि अझ बढी हितकर हुन्छ।
नेपाली कांग्रेसभित्र नेतृत्व र नेतृत्व हस्तान्तरणको प्रक्रिया बारेमा नयाँ बहस चलिरहेको छ। यहीले नेतृत्व लिएर निर्वाचनमा जानेको की नयाँ नेतेत्वसहित जाने भन्ने बारेमा छलफल चलिरहेको छ।
विधि र नेतृत्वबारे पनि फरक–फरक धारणा आइरहेका छन्। त्यसको बारेमा पार्टीभित्र बाहिर चर्चापरिर्चा भइरहेको छ। अधिकांशले यही नेतृत्व लिएर निर्वाचन वा जनतासामु जान नसकिने भनिरहेका छन्। वर्तमान सभापति तथा पदाधिकारी भित्रैबाट नेतृत्व चयन गरेर जान कठिन देखिन्छ। किनभने उहाँहरूले चार वर्षमा जे–जे गर्नुभयो त्यसको परिणाम पार्टीले अहिले भोगिरहेको छ। फेरि पनि त्यही नेतृत्वलाई बोकेर जान झन चुनौतीपूर्ण देखिन्छ। यसकारण अब नयाँ नेतृत्वलाई जिम्मा दिएर मात्र निर्वाचनमा जानु बढी यथार्थपरक देखिन्छ। त्यही नै अहिलेको लागि उत्तम विधि हो।
नेपाली कांग्रेसभित्र पार्टीलाई नेतृत्व गर्न सक्नै कैयौँ नेताहरू छन्। लामो इतिहास भएका, पार्टीमा लामो समयदेखि योगदान दिएका वा वैचारिक स्पष्टता भएका नेताहरूको कमी छैन। तर, पार्टी इतिहासको कठिन मोडमा रहेको छ। पार्टीहरूप्रति अविश्वास बढिरहेको छ। संघीय लोकतान्त्रिक प्रणालीमाथि प्रश्न उठिरहेको छ। यस्तो कठिन अवस्थामा परिपक्व र समन्वयकारी नेतृत्व आवश्यक पर्दछ। नेपाली कांग्रेसका नेताहरूमध्ये सक्षम नेतृत्व, सरल बोली, समन्वयकारी व्यवहार, स्पष्ट विचार र साधारण जीवनशैलीको आधारमा डा. शेखर कोइराला सबैभन्दा बढी भरोसायोग्य नेता मान्न सकिन्छ। उनले पार्टीभित्रको कमीकमजोरीदेखि लोकतान्त्रिक प्रणालीका खराब पक्षहरूलाई उजागार गरी समाधानका लागि विचारहरू प्रवाह गरिरहेका छन्। पार्टीभित्र शेखर कोइराला निरन्तर वैचारिक बहस गरिरहेका छन्। बहस चलाइरहेका छन्। र, पार्टीको लक्ष्यउन्मुख विचारलाई मूर्त रुप दिन अगुवाई गरिहेका छन्।
जेनजी आन्दोलनपछि आम कार्यकर्ताले पार्टी नेतृत्वमा सरल र उच्च विचार भएको र सबै पुस्तासँग समन्वय गर्न सक्ने नेताको खाँचो छ। अहिले पार्टीमा कि त युवाका नाममा चर्को भाषण गर्नेहरूको संख्या बढी छ, कि त अग्रज पुस्ताको दबदबा छ। युवा र अग्रज पुस्तालाई जोड्ने नेतृत्व कमी रहेको वेला शेखर कोइराला त्यसका लागि उचित नेता हुन्। पार्टी सबैको हो। पार्टी नेतृत्वमा शेखर कोइराला आएपछि आम कार्यकतालाई न्याय हुन्छ भन्ने बुझाई रहेको छ। जुन कुरा उनको विचार, सरल जीवनशैली, परिपक्व अनुभवले पनि पुष्टि गर्दछ।
जेनजी आन्दोलनले उजार गरेको अर्को कुरा नेतृत्वको जीवन शैलीमाथिको प्रश्न हो। त्यो नेपाली कांग्रेसभित्र पनि उठिरहेको छ। आम नेपाली जस्तै नेतृत्वको पनि जीवनशैली हुनुपर्छ। अहिलेका पदाधिकारी तथा सरकारको नेतृत्व गरेका मन्त्रीहरूको जीवनशैली निकै भड्किलो बन्दै गएको छ। जसले आम नेपालीलाई बेखुशी बनाएको छ। पार्टीका कार्यक्रममा होस् वा सार्वजनिक कार्यक्रममा नेताहरू फिल्मशैलीमा लावालस्करसहित देखिन्छन्, त्यो पनि चिल्लो महँगो गाडीमा। जसको कारण युवामा पार्टी र नेतृत्वप्रति नकरात्मक धारणाको विकास भएको पाइन्छ।
नेपाली कांग्रेस भुइँमान्छेको पनि हो। जेनजी र युवाको पनि हो। जेनजी आन्दोलनलाई नैतिक समर्थन गरेको आधारमा र नेता पनि हामीजस्तै सर्वसाधारण हुन्छन् भन्ने सन्देश दिन पनि पार्टीलाई शेखर कोइरालाको नेतृत्व आवश्यक देखिन्छ। आम नागरिक, पार्टीका कार्यकर्तादेखि नेतासम्मले पनि अबको पार्टी नेतृत्वमा शेखर कोइराला स्वीकार गरेका छन्।
नेपाली कांग्रेसलाई बलियो, वैचारिक र चलायमान बनाउनका लागि भावी नेतृत्वका लागि गम्भीर भएर सोच्ने समय आएको छ। एकछिनको लोकप्रियताका लागि चर्का कुरा गर्ने वा आफ्नो व्यीक्तगत स्वार्थका लागि अन्धभक्त गुट निर्माण गर्ने दुबै पार्टीका लागि घातक हुन्। यिनले पार्टी तथा देश भन्दा आफू र वरीपरीकाहरूको हितका लागि मात्र काम गर्दछन्। थला परेको नेपाली कांग्रेसलाई माथि उठाउनका लागि शेखर कोइराला जस्ता इमान्दार नेताको जरुरत भइसकेको छ। कार्यकर्ताको मनोबलमाथि उठाउनका लागि पनि शेखर कोइराला जस्ता स्वच्छ छवि भएका नेताको अगुवाई हुनु आवश्यक भइसकेको छ। नभए पार्टी फेरि थप संकटमा फस्दै जाने निश्चित छ।
देश तथा नेपाली समाज पनि कठिन मोडमा अभिएको छ। जात, धर्म, भाषा, समुदाय तथा भूगोलको नाममा राजनीति हुने खतरा बढिरहेको छ। पार्टीभित्र पनि अतिवाद विचार भएकाहरूले द्वन्द्व बढाइरहेका छन्। आफ्नो लोकप्रियताका लागि सस्ता र विकाउ कुरा गर्नेहरूको संख्या बढिरहेको छ। समन्वयकारीताको अभाव देखिन्छ। पार्टीभित्र होस् या बाहिर समन्वयकारी भूमिका खेल्न सक्ने नेतामा शेखर कोइराला अग्रपंतिका मानिन्छन्। शेखर कोइराला सन्तुलित विचार, समन्वयकारी भूमिका, सत्य बोली र सामूहिकता विश्वास राख्ने नेता हुन्। उनले आलोचनाका बाबजुद पनि आफ्नो समन्वयकारी भूमिका बढाउँदै गइरहेका छन्। उनले बारम्बार पार्टीभित्रको अन्यायको अन्त्य गरी सबैलाई न्याय दिने प्रतिबद्धता दोहर्याउँदै आइरहेका छन्। सबैलाई न्यायको सुनिश्चिता गरिनु भनेको वैचारिक स्पष्टता हो। पार्टीभित्र सत्यतथ्यमा आधारित प्रणालीप्रतिको विश्वास हो।
पार्टीभित्र अहिलेसम्म बेदाग र जिम्मेवारीमा नबसेको नेता डा. शेखर कोइराला हुन्। उनी विचार र नेतृत्वका हिसाबले अब्बल नेता हुन्। उनमा पार्टीका सबै तहका नेताहरूसँग समन्वय गर्न सक्ने तथा वैचारिक रूपमा पार्टीलाई अघि लैजान सक्ने क्षमता देखिन्छ। अहिलेसम्म निष्कलंक छवि भएकाले शेखर कोइरालालाई नेतृत्व हस्तान्तरण गर्दा सबैलाई न्याय नै हुन्छ। नेता तथा कार्यकर्तालाई पाच्य पनि हुन्छ। स्वीकार्य पनि हुन्छ। जुन पार्टीका लागि स्वभाविक पनि हुन्छ।
(प्रेस युनियनका केन्द्रीय सदस्य अवस्थी समसामयिक राजनीति र युवा सहभागिताका विषयमा कलम चलाउँछन्। यस लेखमा व्यक्त विचार लेखकको निजी दृष्टिकोण हो।)
