मुस्ताङ। मुस्ताङमा गत वर्षको तुलनामा स्याउ उत्पादन बढेको छ। कृषि ज्ञान केन्द्र मुस्ताङका अनुसार गत वर्ष सात हजार २३८ टन स्याउ उत्पादन भएका थियो। यस वर्ष सात हजार ६३६ टन स्याउ उत्पादन भएको छ।
गत वर्ष ९१ करोड ८६ लाख ७२ हजार रुपैयाँ बराबरको स्याउ बिक्री भएकामा यस वर्ष बढेर एक अर्ब १० करोड रुपैयाँको स्याउ उत्पादन भएको केन्द्रले जनाएको छ।
कृषि ज्ञान केन्द्र मुस्ताङका कृषि प्राविधिकहरुको स्थानीय किसानको फरक/फरक बगैँचा अनुगमन तथा स्याउको क्रप कटिङसम्बन्धी स्थानीय तहका कृषि शाखा र यहाँका किसानका आधारमा स्याउको उत्पादन निकालिएको केन्द्रका प्रमुख राजेश गुरुङले बताए।
यस वर्ष ८० प्रतिशत जिल्लाबाहिर ढुवानी भइसकेको छ भने १० प्रतिशत स्याउ जिल्लामै खपत भएको छ। साथै १० प्रतिशत हार्भेस्ट गर्न बाँकी रहेको केन्द्र प्रमुख गुरुङको भनाइ छ।
यसवर्ष छ हजार १०८ मेट्रिकटन बढी स्याउ जिल्लाबाहिर निकासी हुँदा ८६ करोड १८ लाख ४० हजार मुस्ताङ भित्रिएको केन्द्र प्रमुख गुरुङले बताए। ७६३ टन अर्थात् ११ करोड दुई लाख ३० हजार रुपैयाँ स्याउ जिल्लामै खपत भएको छ। अब ७६३ टन स्याउ हार्भेस्ट गर्न बाँकी छ।
यहाँ कूल ८३२ हेक्टर क्षेत्रफलमा स्थानीय जातको स्याउ र ६० हेक्टर क्षेत्रफलमा उच्च घनत्वको हाइब्रिड स्याउ उत्पादनशील क्षेत्र छ। जसमा स्थानीय स्याउ छ हजार ६९ मेट्रिकटन र हाइब्रिड स्याउ एक हजार ५६७ मेट्रिकटन उत्पादन भएको कृषि ज्ञान केन्द्रले बताएको छ।
यहाँ स्थानीय स्याउ ७८ करोड ८९ लाख ७० हजार, हाइब्रिडतर्फ ३१ करोड ३४ लाख रुपैयाँको स्याउ उत्पादन भएको केन्द्रले जनाएको छ।
केन्द्रका अनुसार मुस्ताङमा स्थानीय स्याउ प्रतिकेजी १३० र हाइब्रिड स्याउ २०० रुपैयाँमा बिक्री भइरहेको छ। यसवर्ष स्थानीय स्याउ प्रतिहेक्टर उत्पादकत्व १०.४१ टन र हाइब्रिड स्याउको प्रतिहेक्टर उत्पादकत्व २६.१२ टन भएको छ। गतवर्ष स्थानीय स्याउ प्रतिहेक्टर उत्पादकत्व १०.७४ टन भएकोमा यसवर्ष शून्य दशलव ३३ टन प्रतिहेक्टर उत्पादकत्व घटेको छ।
यसैगरी गतवर्ष उच्च घनत्वको हाइब्रिड स्याउ प्रतिहेक्टर उत्पादकत्व २५ टनले उत्पादन भएकोमा यसवर्ष प्रतिहेक्टर उत्पादकत्व एक दशमलव १२ मेट्रिकटन वृद्धि भएको छ। यहाँ स्थानीय र हाइब्रिड गरी समग्रतामा प्रतिहेक्टर उत्पादकत्व ११ दशलव ८७ मेट्रिकटन रहेको केन्द्रले जनाएको छ।
यसवर्ष मुस्ताङको तल्लो क्षेत्रमा स्थानीय जातको स्याउ उत्पादनमा आंशिक ह्रास आएको देखिए माथिल्लो क्षेत्रमा स्थानीय जातका स्याउ उत्पादनमा कुनै असर नपुगेको कार्यालय प्रमुख राजेश गुरुङले जानकारी दिए।
यसवर्ष स्याउ उत्पादनशील क्षेत्र वृद्धि भएकै कारण स्याउ उत्पादन बढेको हो। गतवर्ष ५६६ हेक्टर स्थानीय जातका स्याउ उत्पादनशील क्षेत्र रहेकामा १३ हेक्टर क्षेत्रफल विस्तार हुँदै यसवर्ष ५८३ हेक्टर क्षेत्रफल पुगेको हो। यसैगरी गतवर्ष ५० हेक्टर क्षेत्रफलमा उच्च घनत्वको हाइब्रिड स्याउ उत्पादनशील क्षेत्र रहेकोमा १० हेक्टर क्षेत्रफल विस्तार हुँदै ६० हेक्टर क्षेत्रफल पुगेको हो।


