काठमाडौँ: डेडिकेटेड र ट्रंक लाइनको बक्यौता रकम बुझाउन नेपाल विद्युत प्राधिकरणले दिएको पछिल्लो समय आज सकिँदै छ। उद्योगीहरूलाई प्राधिकरणले दिएको किस्ताबन्दी सुविधाअनुसार आज बेलुकासम्म पनि किस्ता बुझाउन नगए प्राधिकरणले उद्योहरूमा लाइन काट्ने सम्मको चेतावनी दिएको छ।
बक्यौता तिर्न चाहने उद्योगीहरूका लागि प्राधिकरणले २८ महीनाको किस्ताबन्दी सुविधा दिएको छ। यसअघि १२ असोजमा बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले प्रशासकीय पुनरवलोकनसँग सम्बद्ध सम्पूर्ण कामकारबाही खारेज गर्दै १७ कात्तिकभित्र बक्यौता भुक्तानी गर्न सूचना जारी गरेको थियो।
तर, प्राधिकरणले फेरि १३ असोजमा अघिल्लो सूचना सच्याउँदै २ कात्तिकभित्र बक्यौता बुझाउन सूचना जारी गरेको थियो। सोही सुचना अनुसार उद्योगीहरूले बक्यौता तिर्ने समय आज सकिन लागेको हो। यद्यपि, हालसम्म ९ वटा उद्योगले मात्र किस्ता बुझाएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार हालसम्म हामा आइरन एण्ड स्टिलले पहिलो किस्ता बापत २० लाख ९० हजार रुपैयाँ प्राधिकरणलाई बुझाएको छ। लक्ष्मी स्टिलले ८४ लाख ९८ हजार, सर्वोत्तम सिमेन्टले ४० लाख, हुलास स्टिलले ५० लाख ४३ हजार र अशोक स्टिलले ६३ लाख रुपैयाँ बुझाएको छ।
त्यसैगरी, रोल्पा सिमेन्टले पाँच किस्ता बराबरको १७ लाख ७० हजार रुपैयाँ एकै पटक बुझाएको छ। सम्राट सिमेन्टले तीन किस्ता बापतको ४० लाख ४७ हजार, नवनेपाल पलाष्टिक उद्योगले १ लाख २३ हजार र शुभश्री अग्नी सिमेन्टले ३ लाख ५५ हजार रुपैयाँ किस्ता तिरेको छ। यी उद्योगबाट कुल ३ करोड २२ लाख रुपैयाँ बक्यौताबापतको रकम उठेको उनले बताए।
केहि उद्योगीहरूले किस्ता बुझाएपनि केहि उद्योगीहरूले भने समस्या समाधान गरिदिन भन्दै शुक्रबार प्रधानमन्त्री सुशिला र्काीलाई भेटेर ध्यानाकर्षण पत्र बुझाएका छन्।


