काठमाडौं। तिहारलाई बत्ती, उज्यालो र फूलको पर्वका रूपमा लिइन्छ। घरघरमा दिपावली गर्ने र बत्ती जलाउने, घर उज्यालो बनाउने, फूलहरूले सजाउने यो पर्वको विशेषता र मौलिकता हो। दिपावली र बत्ती एक अर्काका परिपूरक हुन्।
नेपाल विद्युत् प्राधिकरणका अनुसार लक्ष्मीपूजा (सोमबार) साँझ देशभर बिजुलीको माग एक हजार ६५० मेगावाट रह्यो। यस्तै, लक्ष्मीपूजाको दिन एक हजार १५ मेगावाट बिजुली निर्यात भएको छ।
प्राधिकरणका अनुसार गत वर्ष लक्ष्मीपूजाको दिन देशभरको कूल विद्युत् माग एक हजार ६०२ मेगावाट रहेको थियो।
गत वर्षभन्दा यस वर्ष लक्ष्मीपूजा साँझ कूल बिजुली माग ४८ मेगावाट बढी भएको हो। प्राधिकरणले भारत र बङ्गलादेशमा बिजुली निर्यात गर्दै आएको छ।
विगत वर्षमा झै यस वर्ष लक्ष्मीपूजाका दिन मुलकभर बिनाअवरोध विद्युत् आपूर्ति गर्न प्राधिकरण सफल भएको छ ।
प्राधिकरणले लक्ष्मीपूजाको दिन विद्युत् अवरोध हुन नदिन मुलुकभर रहेका वितरण केन्द्र, विद्युत् गृहका प्रमुख र त्यहाँ रहेका प्राविधिक कर्मचारीलाई तयारी अवस्थामा राखेको थियो ।


