काठमाडौँ: तिहार बिदापछि खुलेको शेयर बजार सामान्य अंकले बढेको छ। साताको पहिलो कारोबार दिन आइतबार ५.१९ अंकले बढेर दुई हजार ५०९ दशमलव ४ अंक बिन्दुमा पुगेर बजार बन्द भएको छ।
यसदिन सेन्सेटिभ इन्डेक्स ०.६० अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.१५ अंक घटेको छ। फ्लोट इण्डेक्स स्थिर रहेको छ। यसदिन १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। आज कारोबारमा आएका २४८ कम्पनीमध्ये ९८ ९८ कम्पनीको शेयरमूल्य बढ्दा १४६ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी चार कम्पनीको शेयरमूल्य स्थिर रहेको छ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा आगजनीमा परेको तारागाउँ रिजेन्सी (हायात) होटलको शेयमूल्य सर्वाधिक ७.१६ प्रतिशतले मूल्य घटेको छ। होटल प्रशासनले गत शुक्रबार एक सूचना जारी गर्दै आगजनी र तोडफोडका कारण पुनर्निर्माण गरी पुन: सञ्चालनमा आउन समय लाग्ने भन्दै अनिश्चितकालका लागि सम्पूर्ण सेवा बन्द गरी कर्मचारीलाई अर्को सूचना जारी नभएसम्म बिदामा बस्न भनेको थियो।
होटल बन्द भएपनि कम्पनीको शेयर कारोबार भने कायम रहेको छ।
होटल हायातपछि भगवती हाइड्रोपावर कम्पनीको शेयरमा ७.१३ प्रतिशतले गिरावट आएको छ।
नेप्से सामान्य बढे पनि यसदिन कारोबार रकम भने घटेको छ। यसदिन २ अर्ब ६६ करोड १३ लाख २ हजार रुपैयाँ बराबरको ५५ लाख ९६ हजार ७७ कित्ता शेयर खरिदबिक्री भएको छ। तिहारअघि अन्तिम कारोबार दिन २ अर्ब ७९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।


