काठमाडौँ। मुलुकका आधा जनसंख्यानजिक बीमाको पहुँच पुगेको छ। बीमाको दायरामा आएको जनसंख्या गत साउनसम्म ४९.०८ प्रतिशत पुगेको अर्थ मन्त्रालयले जनाएको छ। गत साउनसम्म जारी भएको म्यादी, लघु म्यादी र वैदेशिक रोजगार बीमालेखसहित बीमाको दायरामा आएको जनसंख्या ४९ प्रतिशत माथि पुगेको हो। २०८१ साउनमा यस्तो जनसंख्या ४२.७ प्रतिशत थियो।
एक वर्षको अवधिमा बीमाको पंहुच सात प्रतिशत बढेको छ। चालू आर्थिक वर्षको साउनसम्म जारी भएको कुल सक्रिय जीवन बीमालेख संख्या १.५ प्रतिशत बढेर १ करोड ५८ लाख ८६ हजार ३६५ पुगेको छ। यस अवधिमा वैदेशिक बीमालेख र म्यादी तथा लघु म्यादी जीवन बीमालेख संख्यामा उल्लेख्य वृद्धि भएको अर्थले जनाएको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो संख्या १ करोड ३७ लाख ७ हजार २५१ थियो।
गत साउनसम्म कुल निर्जीवन बीमालेख संख्यामा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २० प्रतिशत वृद्धि भई २ लाख ४३ हजार ७४१ पुगेको छ। २०८१ को सोही अवधिमा यस्तो संख्या २ लाख ४१ हजार ३१४ थियो।
आर्थिक वर्ष २०८२०८३ को साउन महिनामा बीमा प्रिमियम वापत संकलित रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.७ प्रतिशतले बढेर २४ अर्ब ४१ करोड ७१ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा २.३ प्रतिशत घटेर २२ अर्ब ८८ करोड ६६ लाख रुपैयाँमा सीमित भएको थियो।
यस अवधिको संकलित प्रिमियममध्ये जीवन बीमा र निर्जीवन बीमातर्फ संकलन भएको बीमा प्रिमियमको हिस्सा क्रमशः ८२ प्रतिशत र १८ प्रतिशत रहेको छ। गत आर्थिक वर्षको साउन महिनामा यस्तो हिस्सा क्रमशः ८१.२ प्रतिशत र १८.८ प्रतिशत थियो।


