नयाँ दिल्ली: ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले नेपालको जलविद्युत र सौर्यजस्ता नविकरणीय ऊर्जामा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका छन्।
नेपालको स्वच्छ ऊर्जाको यात्रा नयाँ युगतर्फ प्रवेश गर्ने मोडमा पुगेको उल्लेख गर्दै उनले भने, ‘जलविद्युतको अपार सम्भावना, बढ्दो सौर्य ऊर्जा क्षमता र विस्तार हुँदै गएको अन्तरदेशीय प्रसारण लाइनका कारण नेपालसँग क्षेत्रलाई दिगो रूपमा ऊर्जायुक्त बनाउन सक्ने सम्भावना छ। म हाम्रा मित्र राष्ट्र र साझेदारहरूलाई निम्तो दिन्छु—नेपालमा लगानी गर्नुहोस्, नवीकरणीय ऊर्जामा लगानी गर्नुहोस्, र सबैका लागि उज्यालो र हरित भविष्यको हिस्सा बन्नुहोस्।’
‘बृहत् स्तरको स्वच्छ ऊर्जा रुपान्तरणका लागि क्षेत्रीय तथा विश्व अन्तरआवद्धताको परिकल्पना’ विषयक सत्रमा ‘नेपाल–भारत–बङ्गलादेश त्रिपक्षीय विद्युत् व्यापारका लागि मार्गचित्र’ शीर्षकमा सम्बोधन गर्दै उनले नेपालको जलविद्युत दक्षिण एशियाकै स्वच्छ ऊर्जा रुपान्तरणको रणनीतिक स्रोत भएको बताए। उनका अनुसार नेपालको जलविद्युत यस क्षेत्रको लचिलो र स्थिर ग्रिडका लागि अत्यन्तै महत्वपूर्ण स्रोत हो।
उनले भने, ‘जलविद्युत उत्पादन केवल देशको विकासका लागि होइन, दक्षिण एशियाकै स्वच्छ तथा हरित ऊर्जा निर्यातकर्ताको रूपमा नेपाललाई उभ्याउने हाम्रो भिजन हो। सन् २०३५ सम्ममा १५ हजार मेगावाट नवीकरणीय ऊर्जा निर्यात गर्ने लक्ष्यसहित नेपाल र भारतले संयुक्त रूपमा उच्च क्षमताका प्रसारण लाइन पहिचान र निर्माण कार्य अघि बढाइरहेका छन्।’
झण्डै ८३ हजार मेगावाट जलविद्युत सम्भावना र करिब ४२ हजार मेगावाट पम्प स्टोरेज क्षमतासँग नेपालका ऊर्जास्रोतहरू स्वच्छ, नवीकरणीय र छिमेकी मुलुकहरूको सौर्य तथा वायु ऊर्जासँग पूरक रहेको उनले बताए।
उनका अनुसार क्षेत्रीय र विश्वव्यापी ग्रिड विस्तारसँगै अन्तरआवद्ध प्रसारण सञ्जालले विभिन्न क्षेत्रबीच ऊर्जा प्रवाहलाई सहज बनाउने, आपूर्ति–माग सन्तुलन कायम गर्ने, लागत घटाउने र पहुँच विस्तार गर्नेछ। उनले थपे, ‘यो दृष्टि ‘एक सूर्य, एक विश्व, एक ग्रिड’ अवधारणासँग पूर्ण रूपमा मेल खान्छ, जहाँ स्वच्छ ऊर्जा सीमाना नाघेर सहज र दिगो रूपमा प्रवाहित हुन्छ। यसलाई वास्तविकतामा रूपान्तरण गर्न क्षेत्रीय देशहरूले एकीकृत विद्युत बजारतर्फ अघि बढ्नुपर्छ।’
उनले सहज, भेदभावरहित र अप्रतिबन्धित हरित ऊर्जाको प्रवाह सुनिश्चित गर्न पारदर्शी नियमन, मापदण्डको एकरूपता र प्रसारण पूर्वाधारमा खुला पहुँच विस्तारजस्ता तत्वहरू निजी लगानी आकर्षण र दीर्घकालीन दिगोपनका मुख्य आधार हुने बताए।
सीमापार ऊर्जा सहकार्यलाई नेपालको स्वच्छ ऊर्जाभिजनको केन्द्रमा रहेको बताउँदै उनले बिम्सटेक देशहरूबीच पूर्ण आवद्ध ग्रिड निर्माणका लागि नेपाल–भारत मात्र नभई भारत–बङ्गलादेशबीचको प्रसारण पूर्वाधार सुदृढ गर्न आवश्यक रहेकोमा जोड दिए।
उनले जलवायु परिवर्तनले विद्युत प्रणाली र जीविकोपार्जनमा पुर्याइरहेको क्षतिप्रति चिन्ता व्यक्त गर्दै भने, ‘दिगोपनको अर्को पक्ष भनेको जलवायु परिवर्तनका बढ्दो प्रभावसँग जुध्न हाम्रो ऊर्जा पूर्वाधारको सहनशीलता हो। नेपालको कार्बन उत्सर्जन नगन्य भए पनि बाढी र खडेरीका घटनाले बारम्बार विद्युत प्रणालीमा गम्भीर क्षति पुर्याइरहेका छन्। त्यसैले जलवायुप्रतिरोधी पूर्वाधार सुदृढ बनाउनु हाम्रो प्राथमिकता हो, र यी जलवायुजन्य क्षतिहरूको न्यूनीकरणका लागि क्षेत्रीय र अन्तर्राष्ट्रिय सहकार्य अझै सुदृढ गर्न आवश्यक छ।’







