काठमाडौँ: साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक उकालो लाग्दै बजार हरियालो बनेको छ। गत साताको अन्तिम कारोबार दिन बढेको नेप्सेले आइतबार पनि सोही क्रमलाई निरन्तरता दिँदै ३०.७५ अंकले उक्लेर २६३१.१४ विन्दुमा पुगेर कारोबार समेटिएको हो।
सोमबार सेन्सेटिभ इन्डेक्स ४.४१ अंकले, फ्लोट इन्डेक्स २.२० अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स १.२३ अंकले बढेका छन्। आज १३ मध्ये १२ उपसमूहको शेयर बढेको छ।
सूचकसँगै कारोबार रकममा समेत उल्लेखनीय वृद्धि भएको छ। गत बिहीबार ७ अर्ब ५१ करोड रुपैयाँको शेयर कारोबार भएको बजारमा आइतबार ९ अर्ब २० करोड रुपैयाँको २ करोड ९७ लाखभन्दा बढी कित्ता शेयर किनबेच भएको छ।
आज कारोबार भएका २०५ कम्पनीको शेयर मूल्य बढेको छ भने ४२ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ। ३ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । त्यस्तै, आज सर्वाधिक कारोबार हिमालयन बैंक लिमिटेडको प्रमोटर शेयरको भएको छ। कम्पनीको मात्रै १ अर्ब ६६ करोड ५० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो।
यस दिन ५ वटा कम्पनीको शेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । सकरात्मक सर्किट लाग्ने कम्पनीमा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, गोर्खाज फाइनान्स लिमिटेड, पञ्चकन्या माई हाइड्रोपावर लिमिटेड , पिपुल्स पावर लिमिटेड, तेह्रथुम पावर कम्पनी लिमिटेड रहेका छन्।


