काठमाडौं। नेपाल राष्ट्र बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेका २ अर्ब ६० करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरूको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ। यसका लागि राष्ट्र बैंकले आइतबार इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरूबाट ब्याजदरसहित प्रस्ताव आह्वान गरेको छ।
राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाअनुसार उक्त रकम ३६६ दिनका लागि (२०८२ मंसिर २४ देखि २०८३ मंसिर २४ सम्म) मुद्दती निक्षेपमा राखिनेछ। कुल लगानी रकममध्ये २ अर्ब ८ करोड रुपैयाँ ‘क’ वर्गका वाणिज्य बैंकहरूका लागि छुट्याइएको छ।
त्यस्तै, ३९ करोड रुपैयाँ ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकहरूमा र १३ करोड रुपैयाँ ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीहरूमा लगानी गरिनेछ। इच्छुक संस्थाहरूले २०८२ कात्तिक १८ गते साँझ ७ बजेसम्म आफ्नो प्रस्ताव राष्ट्र बैंकमा पेस गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ।
योग्यता मापदण्ड
राष्ट्र बैंकको लगानीका लागि सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाहरूले केही सर्तहरू पूरा गर्नुपर्नेछ। ती सर्तहरूमा कम्तीमा दुई वर्षदेखि सञ्चालनमा रहेको हुनुपर्ने, तोकिएको न्यूनतम पुँजी पर्याप्तता कायम गरेको, निष्क्रिय कर्जा कुल कर्जाको ८ प्रतिशतभन्दा कम र खुद कर्जाको ३ प्रतिशतभन्दा कम रहेको,पछिल्लो आर्थिक वर्षमा खुद मुनाफा गरेको, समस्याग्रस्त घोषणा नभएको र सर्वसाधारणका लागि सेयर जारी गरिसकेको हुनुपर्ने उल्लेख छ।


