पर्सा। वीरगञ्ज नाका हुँदै चालू आर्थिक वर्षको तीन महिनामा आठ अर्ब ७० करोड रुपैयाँबराबरका विभिन्न थरिका सवारीसाधन भित्रिएका छन्। वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालू आर्थिक वर्षको तीन महिनामा सवारीसाधनको आयातबाट सात अर्ब ७७ करोड राजस्व संकलन भएको छ।
भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले चालु आर्थिक वर्षको तीन महिनामा सवारीसाधनको आयात र सोबाट प्राप्त हुने राजस्व दुवैमा वृद्धि भएको जानकारी दिए।
जबकी गत आवको तीन महिनामा भने छ अर्ब १९ करोड मूल्य पर्ने विभिन्न थरिका सवारीसाधन आयात भएका थिए। गत आवको तीन महिनामा सवारीसाधनको आयातबाट पाँच अर्ब ९५ करोड राजस्व संकलन भएको थियो।
चालु आर्थिक वर्षको तीन महिनामा तीन अर्ब ४१ करोड रुपैयाँबराबरको २४ हजार ९३९ वटा अनएसेम्वल्ड मोटरसाइकल आयात भएको छ। ती अनएसेम्वल्ड मोटरसाइकलको आयातबाट तीन अर्ब २८ करोड रुपैयाँ राजस्व संकलन भएको छ।
त्यस्तै गत वर्षको तीन महिनाको अवधिमा भने दुई अर्ब ४९ करोड रुपैयाँबराबरको १९ हजार ४८९ अनएसेम्वल्ड मोटरसाइकल आयात भएको थियो। चालु आवको तीन महिनामा ६२ करोड २४ लाख रुपैयाँ पर्ने ३३० जीप, कार र भ्यानको आयात भएको छ्।
ती सवारीसाधनको आयातबाट एक अर्ब ७५ करोड रुपैयाँराजस्व संकलन भएको छ।
यो वर्ष तीन महिनामा वीरगञ्ज नाका हुँदै ६८ करोड ५ लाख रुपैयाँ पर्ने २२९ वटा विद्युतीय जीप, कार र भ्यान आयात भएका छन् ती विद्युतीय जीप, कार र भ्यान आयातबाट ४५ अर्ब ७२ लाख राजस्व संकलन भएको छ।


