काठमाडौँ: नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दरमखोला हाइड्रो इनर्जी लिमिटेडको शेयर सूचीकृत भएको छ। बुधबार (आज) कम्पनीको १ करोड ३ लाख ५ हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो। सूचीकृतसँगै कम्पनीको शेयर कारोबार बिहीबारदेखि सुरु हुने भएको छ।
नेप्सेका अनुसार कम्पनीको पहिलो कारोबार बिहीबारको प्रि–ओपन सेसनमा हुनेछ। कम्पनीको पहिलो कारोबारका लागि नेप्सेले १४२ रुपैयाँ ८१ पैसा देखि ४२८ रुपैयाँ ४३ पैसासम्मको मूल्य दायरा तोकेको छ। सो दायराभित्र जुनसुकै मूल्यमा पहिलो कारोबार हुन सक्नेछ। कम्पनीको शेयर डीएचईएल सिम्बलबाट कारोबार हुनेछ।
दरमखोला हाइड्रो इनर्जीले साउन १५ देखि १९ गतेसम्म आम सर्वसाधारणका लागि २४ लाख २३ हजार १ सय ८५ कित्ता आईपीओ शेयर निष्कासन गरेको थियो। कम्पनीले बागलुङको गलकोट नगरपालिका–११ मा रहेको ९.६ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण सम्पन्न गरिसकेको छ। कम्पनीको शेयर रजिष्ट्रार लक्ष्मी सनराइज क्यापिटल लिमिटेड हो।
सूचीकृतसँगै दरमखोला हाइड्रोको शेयर अब दोस्रो बजारमा खरिद–बिक्री गर्न सकिनेछ। लगानीकर्ताले पहिलो कारोबार मूल्यको निर्धारण बजारमा हुने माग–आपूर्तिका आधारमा तय हुने नेप्सेले जनाएको छ।


