काठमाडौँ: चालू आर्थिक वर्षको पहिलो त्रैमासमा वाणिज्य बैंकहरूको नाफामा उल्लेखनीय गिरावट आएको छ। बैंकहरूले सार्वजनिक गरेका वित्तीय विवरणअनुसार, अधिकांश बैंकहरूको खुद नाफा अघिल्लो वर्षको तुलनामा दोहोरो अंकले घटेको छ, जसले देशको वित्तीय क्षेत्र अझ दबाबमा परेको संकेत गरेको छ।
वाणिज्य बैंकहरूले आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासको वित्तीय विवरणअनुसार २० वटा बैंकमध्ये १५ वटा बैंकको नाफा घटेको छ। नबिल, माछापुच्छ्रे, नेपाल इन्भेष्टमेन्ट, स्टान्डर्ड चार्टर्ड, हिमालयन, कृषि विकास, एसबीआई, सिद्धार्थ, लक्ष्मी सनराइज, प्राइम कमर्सियल, सिटिजन्स, कुमारी, नेपाल बैंक, एनएमबी र प्रभु बैंकको नाफामा गिरावट आएको छ।
५ वटा वाणिज्य बैंकहरूले भने नाफा आर्जन गरेका छन्। नाफा बढाउने बैंकहरूमा राष्ट्रिय वाणिज्य बैंक, एभरेष्ट बैंक, ग्लोबल आइएमई बैंक एनआईसी एसिया बैंक र सानिमा बैंक रहेका छन्। तीमध्ये राष्ट्रिय वाणिज्य बैंकको नाफा सबैभन्दा धेरै २९५.०४ प्रतिशतले बढेको छ। सबैभन्दा कम नाफा बढाउने एभरेष्ट बैंक रहेको छ। जसको नाफा ४.६३ प्रतिशतले मात्र वृद्धि भएको छ।
यसैगरी सबैभन्दा बढी नाफा ग्लोबल आईएमई बैंकले कमाएको छ, जसले पहिलो त्रैमासमा १ अर्ब ८५ करोड रुपैयाँ नाफा कमाएको छ।


