काठमाडौँ: करिब दुई महिनादेखि बन्द रहेको चन्द्रागिरि केबलकार र रिसोर्ट मङ्सिर २२ गते शनिबारदेखि पुनः सञ्चालनमा आउने भएका छन्। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा दोस्रो दिन भएको तोडफोड र आगजनीपछि सेवा अवरुद्ध भएको थियो। आवश्यक मर्मत र सुरक्षा परीक्षण पूरा गरी पुनः सञ्चालनको तयारी पूरा भएको चन्द्रागिरि हिल्सले जनाएको छ।
अष्ट्रियाली कम्पनी डोपलमेयरका प्राविधिकहरूको सहयोगमा केबलकारको बटम स्टेसनमा क्षतिग्रस्त उपकरण मर्मत तथा प्रणाली परीक्षण सम्पन्न गरिएको छ। अब यात्रुहरू सुरक्षित रूपमा केबलकारमार्फत भालेश्वर महादेव मन्दिर दर्शन गर्न सक्नेछन् भने रिसोर्टका अन्य सेवाहरू पनि उपलब्ध हुनेछन्।
चन्द्रागिरि हिल्सका अध्यक्ष हेमराज ढकालले सेवा पुनः सुरु गर्न खटिएका प्राविधिक टोलीप्रति धन्यवाद दिँदै भक्तजन र पर्यटकहरूको धैर्यका लागि आभार व्यक्त गरे।
सेवा बन्द हुनुअघि दैनिक करिब दुई हजारजना भक्तजन र पर्यटकले चन्द्रागिरि केबलकारको सुविधा लिँदै आएका थिए।







