काठमाडौँ: ४८ दिनदेखि आन्दोलनरत नेपाल धितोपत्र बोर्डका कर्मचारी र अर्थ मन्त्रालयबीच आइतबार बिहान सहमति भएको छ। आज बिहान अर्थ मन्त्रालयमा भएको वार्तामा कर्मचारीको सेवा–सुविधा खारेजीसम्बन्धी निर्णय पुनरावलोकन गर्ने सहमति भएको हो।
सहमतिअनुसार अर्थ मन्त्रालयले उक्त निर्णय पुनरावलोकन गर्नेछ र कर्मचारीहरूले पछिल्ला ४८ दिनदेखि जारी आन्दोलन स्थगित गरी नियमित काममा फर्किने भएका छन्। तर, लिखित सहमति प्राप्त नभएसम्मका लागि कर्मचारीहरूले दैनिक एक घण्टाको धर्ना कार्यक्रम यथावत राख्ने निर्णयगरेका छन्।
वार्तामा अर्थ मन्त्रालयतर्फबाट महाशाखा प्रमुख महेश आचार्य र मन्त्रालयका प्रतिनिधि उत्तमकुमार खत्री सहभागी थिए। धितोपत्र बोर्डतर्फ दुवै कर्मचारी यूनियनका प्रतिनिधिहरूको उपस्थिति थियो।
सहमति भएपछि आजदेखि धितोपत्र बोर्डका कर्मचारीहरू नियमित रूपमा आफ्नो काममा फर्किएका छन्।


