काठमाडौँ: नियमविपरीत कार्य गरेको पाइएपछि दुई वाणिज्य बैंक राष्ट्र बैंकको कारबाहीमा परेका छन्। नेपाल राष्ट्र बैंकले कुमारी बैंक लिमिटेड र प्राइम कमर्सियल बैंक लिमिटेडलाई कारबाहीस्वरूप सचेत गराएको जनाएको छ।
राष्ट्र बैंकका अनुसार, कुमारी बैंकले कालोसूचीमा रहेका व्यक्तिको खातामा कारोबार गराएको पाइएको छ। नियमअनुसार कालोसूचीमा रहेका व्यक्ति, कम्पनी वा संस्थाले सूचीबाट फुकुवा नभएसम्म रकम जम्मा गर्न बाहेक अन्य कुनै पनि बैंकिङ कारोबार गर्न नपाउने व्यवस्था छ। सो व्यवस्था उल्लंघन गरेकाले राष्ट्र बैंकले कुमारी बैंकलाई सचेत गराएको हो।
त्यसैगरी, प्राइम कमर्सियल बैंकले नियमबमोजिम कर्जा वर्गीकरण नगरेको पाइएको छ। बैंकले केही कर्जालाई भाखा नाघेको अवधिका आधारमा वर्गीकरण नगरेकाले राष्ट्र बैंकले यस बैंकलाई समेत सचेत गराएको जनाएको छ।
राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई नियमन र अनुशासनमा रहन आग्रह गर्दै आगामी दिनमा यस्ता त्रुटि दोहोरिए कडा कारबाही हुने चेतावनी दिएको छ।


