काठमाडौँ: नेपाल राष्ट्र बैंकले ३ अर्ब ७० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ। उक्त रकम उपदान तथा पेन्सन कोषमा रहेको हो, जसलाई राष्ट्र बैंकले एक वर्षका लागि लगानी गर्न लागिरहेको हो।
यसका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमाझ प्रस्ताव माग गर्दै सूचना जारी गरेको छ। जारी सूचनाअनुसार, कुल रकममध्ये २ अर्ब ९६ करोड रुपैयाँ वाणिज्य बैंकहरूमा, ५५ करोड ५० लाख रुपैयाँ विकास बैंकहरूमा र १८ करोड ५० लाख रुपैयाँ फाइनान्स कम्पनीहरूमा राखिनेछ।
राष्ट्र बैंकले इच्छुक संस्थाहरूलाई यही कात्तिक २६ गते (बुधबार) भित्र प्रस्ताव पठाउन आग्रह गरेको छ। प्रस्तावमा संस्थाले आफूले दिन सक्ने ब्याजदर र अन्य सर्तहरू स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ।
मुद्दती निक्षेपका लागि इच्छुक बैंक तथा वित्तीय संस्थाले केही सर्तहरू पूरा गर्नुपर्नेछ। तीमध्ये सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको हुनुपर्ने, न्यूनतम पुँजी कोष अनुपात कायम रहेको, निष्क्रिय कर्जा कुल सापटीको ८ प्रतिशतभन्दा बढी नभएको, खुद निष्क्रिय कर्जा अनुपात ३ प्रतिशत ननाघेको र कर्जा–निक्षेप अनुपात तोकिएको सीमाभित्र रहेको हुनुपर्ने उल्लेख गरिएको छ।
राष्ट्र बैंकले सरकारी कोष अन्तर्गत रहेका रकमहरूलाई निष्क्रिय नराखी सुरक्षित र लाभदायी रूपमा लगानी गर्ने उद्देश्यले यस्तो निक्षेप राख्ने नीति लिएको हो। यस कदमले बैंक तथा वित्तीय संस्थाहरूको तरलता व्यवस्थापनमा सहयोग पुग्ने र राष्ट्र बैंकलाई नियमित ब्याज आम्दानी प्राप्त हुने अपेक्षा गरिएको छ।


