काठमाडौँ: बागमती प्रदेशको आर्थिक वृद्धिदर ५.२ प्रतिशत हुने अनुमान गरिएको छ। गत वर्ष यस्तो वृद्धिदर ३.७ प्रतिशत थियो। आर्थिक वर्ष २०८१/८२ मा यस प्रदेशको कुल गाहस्थ उत्पादन (जीडीपी) प्रचलित मूल्यमा २२ खर्ब ३० अर्ब २३ करोड रुपैयाँ पुग्ने अनुमान छ।
समीक्षा वर्षमा यस प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा कृषिमा ११.८ उद्योगमा ११.१ र सेवा क्षेत्रको ७७.१ प्रतिशत योगदान रहने नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक गतिविधि विवरणमा उल्लेख छ।
समीक्षा वर्षमा मुलुकको समग्र कृषि, उद्योग र सेवा क्षेत्रमा बागमती प्रदेशको अंश क्रमशः १७.१, ३१.७ र ४५.४ प्रतिशत रहने अनुमान छ।बागमती प्रदेशको कुल गार्हस्थ्य उत्पादनमध्ये थोक तथा खुद्रा व्यापार, गाडी तथा मोटरसाइकल मर्मत सेवाको अंश सबैभन्दा बढी २२.६ प्रतिशत छ। यस्तै घरजग्गा कारोबारको अंश १५.२ प्रतिशत, कृषि, वन तथा मत्स्यपालनको अंश ११.८ प्रतिशत, वित्तीय तथा बीमाको अंश ११.२ प्रतिशत, यातायात तथा भण्डारणको अंश ९.३ प्रतिशत तथा उत्पादनमूलक उद्योगकोअंश ४.९ प्रतिशत रहको छ।

राष्ट्रिय तथ्यांक कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा कुल गार्हस्थ्य उत्पादन प्रचलित मूल्यमा ६१ खर्ब ७ अर्ब रुपैयाँ पुग्ने अनुमान गरेको छ। कुल गार्हस्थ्य उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः २५.२, १२.८ र ६२ प्रतिशत रहने अनुमान कार्यालयको छ। अर्थतन्त्रमा कृषि क्षेत्रको घट्दै गएको छ भने सेवा क्षेत्रको योगदान बढ्दै गएको देखिन्छ। उद्योग क्षेत्रको योगदान भने विगत १० वर्षमा प्रायः स्थिर छ।
तथ्यांक कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक तथ्यांकका आधारमा प्रदेशहरूको समग्र आर्थिक अवस्था तुलना गर्दा आर्थिक वर्ष २०८१/८२ मा मुलुकको कुल गार्हस्थ्य उत्पादनमा बागमती प्रदेशको हिस्सा सबैभन्दा धेरै अर्थात ३६.५ प्रतिशत रहेको छ। सबैभन्दा कम कर्णाली प्रदेशको ४.२ प्रतिशत मात्र छ।
यस प्रदेशको जनसङ्ख्या अन्य प्रदेशभन्दा बढी रहेको, संघीय राजधानी यसै प्रदेशमा रहेको, अधिकांश उद्योगहरू तथा सेवा क्षेत्रसँग सम्बन्धित गतिविधिहरू यसै प्रदेशमा रहेको जस्ता कारणले अन्य प्रदेशभन्दा यस प्रदेशको बागमती हिस्सा कुल गार्हस्थ्य उत्पादनमा अधिक रहने गरेको छ।



