काठमाडौँ: बैंक तथा वित्तीय संस्थाबाट हुने लगानी विस्तार पर्याप्त रूपमा अगाडि बढ्न नसक्दा पछिल्ला वर्षहरूमा बैंकिङ प्रणालीमा अत्यधिक तरलता थुप्रिँदै गएको छ। करिब दुई वर्षयता निरन्तर रूपमा बैंक तथा वित्तीय संस्थाहरूमा जरूरतभन्दा धेरै तरलता बसिरहेको अवस्थामा नेपाल राष्ट्र बैंक पुनः ठूलो परिमाणको तरलता व्यवस्थापनमा जुट्ने भएको छ।
यसै क्रममा राष्ट्र बैंकले आज ९कात्तिक ३० गते० ५० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने जनाएको छ। ८४ दिन अवधिका लागि आह्वान गरिएको यस निक्षेपको ब्याजदर बोलकबोल प्रक्रियामार्फत निर्धारण हुनेछ। संकलित निक्षेपको साँवा तथा ब्याज भुक्तानी २०८२ माघ २५ गते हुने केन्द्रीय बैंकले जानकारी दिएको छ।
निक्षेप संकलनका लागि बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम ५ अर्ब रुपैयाँसम्म बोलकबोल गर्न सक्ने व्यवस्था गरिएको छ। निक्षेप वितरणमा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने बोलकबोलकर्तालाई प्राथमिकता दिइने तथा आवश्यक मात्रासम्म क्रमशः बाँडफाँड गरिने राष्ट्र बैंकले स्पष्ट पारेको छ।
बजारमा उपलब्ध अत्यधिक तरलता नियन्त्रण गर्दै आर्थिक गतिविधि सन्तुलनमा ल्याउन राष्ट्र बैंक निरन्तर सक्रिय हुँदै आएको छ।


