काठमाडौं। कर्जा परिचालन नहुँदा बैंकहरुले ब्याजदर घटाइ रहेका छन्। ब्याजदर घटे पनि मौद्रिक नीति लक्ष्यअनुसार कर्जा प्रवाह हुन सकेको छैन।
चालू आर्थिक वर्षको मौद्रिक नीतिमा नेपाल राष्ट्र बैंकले १२ प्रतिशत कर्जा वृद्धि गर्ने लक्ष्य तोकेको छ। लक्ष्य पुरा गर्न यो वर्ष झण्डै सात खर्ब रुपैयाँ कर्जा प्रवाहित गर्नुपर्नेछ। तर, राष्ट्र बैंकको तथ्याकं हेर्दा हालसम्म १ खर्ब रुपैयाँ पनि बढेको छैन्। अहिलेको अवस्था हेर्दा लक्ष्यको आधा पनि कर्जा जाने अवस्था देखिन्दैन्। कर्जा विस्तार नहुँदा सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य पनि पुरा हुँदैन्।
बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को तीन महिनामा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा निकै न्यून भएको छ। साउनदेखि कार्तिकसम्ममा ८२ अर्ब ९३ करोड रुपैयाँ मात्र कर्जा प्रवाह भएको राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ।
गत वर्षको सोही अवधिसँग तुलना गर्दा पनि वृद्धि दर १.५ प्रतिशत मात्रै रहेको छ। गत वर्षको सोही अवधिमा निजी क्षेत्रमा २.५ प्रतिशत अर्थात् १ खर्ब २८ अर्ब ६५ करोड रुपैयाँ कर्जा गएको थियो। वार्षिक आधारमा २०८२ असोज मसान्तमा निजी क्षेत्रमा कर्जा प्रवाह ७.३ प्रतिशतले वृद्धि भएको छ।
२०८२ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ ६२.८ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ ३७.२ प्रतिशत कर्जा पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा क्रमशः ६४ प्रतिशत र ३६ प्रतिशत रहेको थियो।
विवरण अनुसार, निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये वाणिज्य बैंकको कर्जा १.६ प्रतिशत, विकास बैंकको कर्जा ०.५ प्रतिशत, र वित्त कम्पनीको कर्जा १.६ प्रतिशतले बढेको छ। २०८२ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) मा १५ प्रतिशत र घरजग्गा धितो कर्जामा ६४.३ प्रतिशत रहेको छ।
चालु आर्थिक वर्षको तीन महिनामा निर्माण क्षेत्रतर्फको कर्जा २.९ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फ २.४ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्र २.४ प्रतिशत, उपभोग्य क्षेत्र १.६ प्रतिशत, र थोक तथा खुद्रा व्यापार क्षेत्र १.४ प्रतिशतले वृद्धि भएको छ भने सेवा उद्योग क्षेत्रको कर्जा ०.३ प्रतिशतले घटेको छ।
त्यस्तै, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय कर्जा सहित) ३.२ प्रतिशत, मार्जिन प्रकृतिको कर्जा ३.० प्रतिशत, क्यास क्रेडिट कर्जा २.७ प्रतिशत, आवधिक कर्जा ०.७ प्रतिशत र हायर पर्चेज कर्जा ०.६ प्रतिशतले बढेको छ। त्यस्तै, ट्रष्ट रिसिट (आयात) कर्जा ४.३ प्रतिशत र अधिविकर्ष(ओभरड्राफ्ट) कर्जा ३.३ प्रतिशत घटेको छ।
कर्जा प्रवाह न्यून भएकाले वाणिज्य बैंकहरूले मंसिर महिनाका लागि ब्याजदर घटाएका छन्। २० वटा वाणिज्य बैंकमध्ये १० बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने बाँकी १० बैंकले कात्तिक महिनाकै दर कायम राखेका छन्। बैंकहरुको औसत ब्याजदर ५.०४ प्रतिशतमा सीमित भएको छ।
ब्याजदर घटाउने बैंकहरूमा एनआईसी एशिया, सिद्धार्थ, हिमालयन, स्ट्याण्डर्ड चार्टर्ड, प्राइम कमर्सियल, सिटिजन्स, नबिल, नेपाल एसबिआई, सानिमा र कुमारी बैंक रहेका छन्।
तर, ब्याजदर घटाए पनि पर्याप्त कर्जा प्रवाह हुन सकेको छैन। बैंकमा तरलता अत्यधिक भएकोले राष्ट्र बैंकले हप्तैपिच्छे तरलता व्यवस्थापन गर्दै आएको छ। साउनयता राष्ट्र बैंकले झण्डै १० खर्ब रुपैयाँ बढी तरलता प्रशोधन गरेको छ भने आज (कात्तिक ३० गते) मात्रै ५० अर्ब रुपैयाँ थप तरलता प्रसोचन गरेको छ।
राष्ट्र बैंकका अनुसार, निक्षेप बढेसँगै लगानीयोग्य रकम १० खर्ब रुपैयाँभन्दा माथि पुगेको छ। राष्ट्र बैंकले अहिले दीर्घकालिन निक्षेप संकलन औजार प्रयोग गरी तरलता व्यवस्थापन गरिरहेको छ।
