काठमाडौँ: गभर्नर प्राडा विश्वनाथ पौडेलले नेपाल राष्ट्र बैंकको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन अर्थमन्त्री रामेश्वरप्रसाद खनालसमक्ष पेस गरेका छन्। अर्थ मन्त्रालयमा आइतबार आयोजित समारोहमा गभर्नर पौडेलले प्रतिवेदन हस्तान्तरण गरेका हुन्।
वित्तीय विवरणमा गत आर्थिक वर्षको अन्तिम लेखापरीक्षणसम्बन्धी विवरण समावेश गरिएको छ। प्रतिवेदनअनुसार विदेशी विनिमय तथा अन्य सम्पत्ति पुनर्मूल्यांकन लाभ–हानि समायोजन अघिको बैंकको खुद आय अघिल्लो वर्षको तुलनामा ९.११ प्रतिशतले वृद्धि भई ८० अर्ब ४८ करोड २६ लाख ५० हजार रुपैयाँ पुगेको छ।
राष्ट्र बैंक सञ्चालक समितिको २०८२ कात्तिक २८ गते बसेको बैठकले आवश्यक कोषहरूमा विनियोजन गर्नुपर्ने रकम छुट्याएपछि बाँकी ४२ अर्ब रुपैयाँ नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय गरेको प्रतिवेदनमा उल्लेख छ।
२०८२ असार मसान्तसम्मको वित्तीय स्थितिअनुसार बैंकको कुल सम्पत्ति तथा दायित्व अघिल्लो वर्षको तुलनामा २९.२३ प्रतिशतले वृद्धि भई २६ खर्ब ७१ अर्ब २३ करोड ९५ लाख ४० हजार रुपैयाँ पुगेको छ।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ९१ अनुसार बैंकले वासलात, आय–व्यय तथा सम्बन्धित विवरणसहितको वार्षिक प्रतिवेदन आर्थिक वर्ष समाप्त भएको चार महिनाभित्र नेपाल सरकारसमक्ष पेश गर्नुपर्ने व्यवस्था रहेको छ।
त्यसैगरी, ऐनको दफा ९३(१) मा बैंकको लेखापरीक्षण, कामकारबाही तथा आर्थिक–वित्तीय अवस्थासम्बन्धी प्रतिवेदन सरकारसमक्ष पेस गर्नुपर्ने व्यवस्था उल्लेख छ।


