काठमाडौँ: विभिन्न भन्सार कार्यालयहरूमार्फत प्राप्त हुने व्यापार राजस्वको रकम कात्तिक महिनामा खस्केको छ। भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो चौमासिक भन्सार संकलन रिपोर्टले असोजको तुलनामा कात्तिकमा कम राजस्व संकलन भएको देखिन्छ।
आर्थिक वर्षको सुरुआती महिना साउनबाटै लक्ष्यको ८० प्रतिशतभन्दा बढी राजस्व संकलन गरिरहेका भन्सार कार्यालयहरूले कात्तिकमा ७२.६ प्रतिशतमात्र राजस्व असुली गरेका छन्। भन्सार विभागले दिएको जानकारी अुनसार विभिन्न कार्यालयहरूमार्फत असोज महिनामा ४३ अर्ब ९१ करोड रुपैयाँ बराबरको राजस्व संकलन गरेकोमा कात्तिकमा जम्माजम्मी ३६ अर्ब ७० करोड रुपैयाँ संकलन गरेका छन्।
त्यस्तै विभागले यो चौमासिकको सबैभन्दा बढी राजस्व संकलन असोजमा भएको बताएको छ। त्यस्तै साउनमा ३७ अर्ब ९ करोड र भदौमा ४१ अर्ब ६ करोड रुपैयाँ भन्सार कार्यालयहरूमार्फत राजस्व उठेको छ।
अघिल्लो आर्थिक वर्षको तुलनामा यो चौमासिकमा लक्ष्य अनुरुपको राजस्व संकलन दर भने बढेको छ। अघिल्लो आर्थिक वर्षभन्दा चालू आर्थिक वर्षको साउन महिनामा ६.९ प्रतिशत, भदौमा ३.७ प्रतिशत, असोजमा १३.१ प्रतिशत र कात्तिकमा ८.३ प्रतिशतले राजस्व संकलन दर बढेको विभागले जनाएको छ।
चालू आर्थिक वर्षको कुल लक्ष्यमा पहिलो चौमासिकमा विभागले २७ प्रतिशत राजस्व संकलन भएको जनाएको छ। जुन कुल रकममा १ खर्ब ५८ अर्ब ७६ करोड हुन आउँछ। चालू आर्थिक वर्षमा व्यापार राजस्वमार्फत भन्सार कार्यालयहरूले ५ खर्ब ८८ अर्ब २५ करोड रुपैयाँको व्यापार राजस्व संकलन गर्ने लक्ष्य लिएको विभागले जनाएको छ।



