काठमाडौं। बंगलादेशले नेपालबाट थप २० मेगावाट बिजुली लैजाने भएको छ। नेपालबाट बंगलादेशले आयात गर्दै आएको ४० मेगावाट जलविद्युतका अतिरिक्त २० मेगावाट थप आवश्यक प्रक्रिया पुरा गरी आयात गर्ने भएको हो।
यो समेत गरी नेपालले बंगलादेशमा ६० मेगावाट बिजुली निर्यात हुनेछ। बंगलादेशमा सम्पन्न सचिवस्तरिय संयुक्त निर्देशक समितिको (जेएससी) को सातौं वैठकले थप २० मेगावाट बिजुली लैजाने सहमति गरेको हो।
नेपालबाट भारतीय ग्रिड हुँदै बंगलादेशको बरापुकारया, पञ्चगढ/ ठाकुरगाउँ, भेरामारा र कोमिल्लासम्म प्रशारण लाइनमार्फत विद्युत निर्यात गर्न अध्ययन गर्ने दुई देशबीच सहमति भएको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका प्रवत्ता सन्दीपकुमार देवले जानकारी दिए।
विद्युत प्राधिकरणले भारतीय अनुदानमा निर्मित तथा आफ्नो स्वामित्वको २५ मेगावाटको त्रिशूली र सहायक कम्पनी चिलिमे जलविद्युत आयोजनाबाट उत्पादित २२ मेगावाट गरी ४० मेगावाट बिजुली बंगलादेश निर्यात गर्दै आएको छ।
वर्षायामको ६ महिना (१५ जुन–१५ नोभेम्बर) मध्यकालीन सम्झौतामार्फत पाँच वर्ष ४० मेगावाट विद्युत् अमेरिकी डलरमा बंगलादेशलाई बिक्रीको अनुमति गतवर्ष असोज १७ मा पाएको थियो।
प्राधिकरणले बंगलादेशलाई प्रति युनिट ६.४० अमेरिकी सेन्टमा बिक्री गरिरहेको छ।
बैठकले नेपाल, भारत र बंगलादेशबीच ऊर्जा क्षेत्रमा सहकार्य गर्ने सम्बन्धी समझदारीपत्र (एमओयू) मा भारतको सहमति लिन दुवै देशले संयुक्तरूपमा प्रयास गर्ने सहमति भएको छ।


